बनेपा
शुुक्रवारबाट काभ्रेको बनेपामा शुरु भएको बृहत काभ्रेपलाञ्चोक कृषि महोत्सवको सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका छन् ।
महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले कृषि बिना जीवन नहुने बताए । जीवन पाल्ने श्रम नै उत्तम श्रम रहेको भन्दै कृषकहरूको उत्पादन, कृषिका लागि आवश्यक औजार, वीउविजन, प्रविधि आदिको प्रदर्शनी सहित नवीनतम् प्रविधि सम्बन्धी अन्तरक्रिया तथा प्राविधिक बहस सहित आयोजना गरिएको भन्दै महोत्सव सफलताको शुभकामना दिएका छन् ।
संवोधनका क्रममा सम्माननीय पौडेलले भनेका छन् : जिल्ला कृषि एवम् पशुजन्य उत्पादन र बजारमुखी उत्पादनको दृष्टिले महत्वपूर्ण क्षेत्र हो । कृषि उद्यमीहरू कृषि कर्मबाट अन्य पेशा, व्यवसायतर्फ आकर्षित भइरहेको सन्दर्भमा यस क्षेत्रका उद्यमीहरूमा कृषि कार्यप्रतिको आकर्षण, रोजगारी र आयआर्जन सहितको आत्मनिर्भरता बढाउने गरी कृषिजन्य व्यवसायको व्यापकता अभिवृद्धिमा यस महोत्सवले महत्वपूर्ण योगदान दिने छ । कृषि र पशुपालनका साथै लोपोन्मुख अवस्थाका प्रविधि, अभ्यास र रैथाने बालीको संरक्षण र संवद्र्धन गरी नयाँ पुस्तालाई परिचित गराउने तथा यसको ज्ञान र प्रविधि हस्तान्तरण गर्नुपर्ने आजको आवश्यकता हो भन्ने लागेको भनिएको छ ।
विविध भौगोलिक संरचना भएको हाम्रो देशमा तराई क्षेत्रमा गहुँ, धान र ऊखु उत्पादन तथा पहाडी क्षेत्रमा चिया, सुन्तला, कफी, जैतुन, किवी, ड्रागन फ्रुट,एभोकाडोजस्ता हाई भ्यालु फ्रुट को विकासमा जोड दिनु पर्दछ भन्ने लागेको भन्दै उच्च पहाडी तथा हिमाली क्षेत्रमा स्याउ र ओखर खेतीको विकास गर्दा कृषि क्षेत्रको सन्तिुलत विकासलाई मद्धत पुग्ने उल्लेख छ ।
विदेशबाट फर्केका युवाहरूलाई उनीहरूले सिकेर आएको सीप प्रयोग गर्ने गरी कृषिमा आकर्षित गर्ने वातावरणको निर्माणमा नीति निर्माता, सरकार र व्यावसायिक संस्थाहरुले विशेष ध्यान दिनुपर्ने पौडेलेका संवोधनमा उल्लेख छ ।