काभ्रे
पनौती नगरपालिकाको वडा नं. ४ बालश्रममुक्त वडा घोषणा भएको छ ।
आइतबार भएको कार्यक्रममा नगर प्रमुख रामशरण भण्डारीले बालश्रममुक्त वडा भनि घोषणा गरेका हुन् । नगरका १२ वडा मध्ये बालश्रम मुक्त घोषित १० औं वडाको रुपमा वडा नं. ४ बनेको छ ।
नगरपालिकाले बालमैत्री स्थानीय तह घोषणा कार्यविधी, २०७८ अनुसारका सूचक पुरा गर्ने वडाहरुलाई बालमैत्री वडा घोषणा गरिएको छ । यस अघि नगरपालिकाका ९ वटा वडाहरु बालश्रममुक्त वडा घोषणा भैसकेका छन् । घोषणा हुन अब मात्र २ वटा वडा बाँकी रहेका छन् । ती वडाहरु पनि छिट्टै घोषणाको तयारीमा जुटेको नगरपालिकाले जनाकारी दिएको छ ।
वडा नं ४ लाई बालश्रममुक्त वडा घोषणा गर्दै नगरप्रमुुख भण्डारीले वडालाई बालश्रम मुक्त वडा बनाउन सहयोग गर्नुहुने सम्पुर्ण व्यवसायी, बिद्यालय, सामाजिक अभियान्ता, बालक्लब, जनप्रतिनिधि सहजकर्ताहरुमा धन्यवाद व्यक्त गरे ।
उनले छिट्टैनै नगरलाई नै बालश्रममुक्त घोषणा गर्ने र यसको दिगोपनकोलागि नगरले योजना बनाएको पनि बताएका छन् । बालबालिकाको क्षेत्रमा निरन्तर बजेट व्यवस्थापन गर्दै उनिहरुको शारीरिक र मानसिक विकासका लागि नगर लागिपर्ने उनको भनाई थियो ।
नगर उपप्रमुख गीता बन्जाराले पनौती नगरले आफ्नै लगानी र श्रोत प्रयोग गरेर ५१ वटा सुचक पुरागर्न सफल भएको बताइन् । ‘वडा नं. ४ बालश्रममुक्त घोषणा भएको छ, यसलाई सबैले अपनत्व लिइ आगामी दिनमा बालबालिकालाई बालश्रममा नलगाउन र कसैले लगाएमा खबरदारी गर्नुपर्छ ।’ उनको आग्रह थियो ।
वडा न ४ का वडा अध्यक्ष दिपक प्रसाद दाहालले सबको साथ सहयोगले मात्र बालश्रममुक्त अभियानले सार्थकता पाउने विचार राखे । बालबालिका माथि श्रम र हिंसा गर्नेले समाज परिवर्तनमा सहयोग गर्न नसक्ने उनको तर्क थियो ।
श्रम रोजगार तथा सामाजिक बिकास मन्त्रालयका उप सचीव जितेन्द्र शर्माले बालश्रम सामाजिक अपराध हो भन्दै संविधानले बालश्रम लगाएत सबै प्रकारका श्रम शोषण अन्त्य गरिने भनी उल्लेख गरेको धारणा राखे ।
नगरपालिकाका बालमैत्री शाखा प्रमुख केशव बन्जाराल वडा नं ४ बलश्रम मुक्त हुनुुमा बालमैत्री सहजकर्ता र जनप्रतिनिधिसबैको महत्वपूर्ण भूमिका रहेको बताए । कार्यक्रममा बालश्रम नगर्ने भनी सामुहिक प्रतिबद्धता समेत गरिएको थियो । २८ वटा उद्योगी व्यवसायीलाई बालश्रममुक्त वडा घोषणा गर्न सहयोग गरेको भन्दै सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
वडा भित्रका सबै बिद्यालय, स्वास्थ चौकी, प्रहरी चौकी, स्वयंसेवीका, पत्रकार , लगाएतकालाई पनि अभियानमा सहयोग पुर्याएको भन्दै सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले मबालश्रम सम्बन्धि नाटक नृत्य तथा गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रमा प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद चापागाईं,शिक्षा निर्देशक प्रणराज न्यौपाने, पालिकाका जनप्रतिनिधिहरु कर्मचारी, बुद्धिजिवी सर्वसाधरणको उपस्थिति रहेको थियो ।