पनौती
अविरल वर्षाका कारण पनौती जलविद्युत आयोजनाको विद्युत उत्पादन गृह देखि पानीको मुहान सम्म असर पुगेको छ । जले गर्दा आयोजनाबाट यतिखेर विद्युत उत्पान पूर्ण रुपमा बन्द भएको छ ।
उक्त आयोजनाको लागि प्रयोग भएको पानीको मुहान रोशी खोला स्थित पनौती नगरपालिका वडा नं ८ मल्पीमा रहेको छ । खोलामा आएको बाढीका कारण आयोजनाको ड्याम क्षेत्र रोशी खोलाले धार बदलेको छ । जसका कारण पुनः खोलालाई पुरानै धारमा ल्याउनका लागि समय लाग्ने देखिएको छ ।
त्यसैगरी आयोजनाको विद्युत उत्पादन केन्द्र खोपासीको केन्द्रको भवन रहेको दुवै तर्फबाट पहिरो आएको छ । पहिरो तथा विद्युत उत्पादन गृह नजिकैबाट बग्ने सलाँदुखोलामा आएको बाढीका कारण गृहको भवन भित्रै पहिरो तथा पानी पसेको छ । पानीका कारण आयोजनाको उपकरणहरुमा क्षति पुगेको जानकारी प्राप्त भएको छ ।
‘दुई तर्फको पहिरोले भवनमा असर पुर्याएको छ । पहिरोका कारण विद्युत उत्पादन गृहको भित्र तथा बाहिर रहेका उपकरणहरुमा क्षति पुगेको छ’ । आयोजनाका एक कर्मचारीले भने । पनौती जलविद्युत आयोजना नेपालमा निर्माण भएको तेस्रो जलविद्युत आयोजना हो । सन् १९६५ मा तत्कालीन सोभियत संघको सहयोगमा रु २७ करोडको लागतमा निर्मित यस आयोजना २.४ मेगावाट क्षमताको रहेको छ । आयोजनामा ३ वटा टर्वाइन जडित रहेको र वर्षाले क्षति पुग्नु अघि २ वटा टर्वाइनबाट निरन्तर विद्युत उत्पादन भइरहेको बताइएको छ ।