१ सय ३५ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा काभ्रेको बनेपामा प्रभातफेरी तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम नेपाल टे«ड युनियन काँग्रेस जिल्ला कार्यसमिति काभ्रे को आयोजना तथा नेपाल ट्रेड युनियन बनेपा कार्यसमितिको व्यवस्थापनमा भएको थियो । बनेपा टेलिकम चोकबाट शुरु भएको प्रभातफेरी कार्यक्रम चारदोबाटो परिक्रमा पछि बनेपा पार्टीभन्यूमा पुगेर सभामा परिणत भएको थियो । प्रभात फेरी कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य शिब प्रसाद हुमागाई, जिल्ला सभापति तिर्थ लामा लगायतका जिल्ला नेता तथा विभिन्न भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहको थियो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य शिव प्रसाद हुमागाईले नेपाली काँग्रेस सधै श्रमिक मजदुरहरु पक्षमा रहेको बताए । जिल्लामा आफूले नेपाली काँग्रेसको संगठन विस्तारका लागि चमत्कार नै गर्न नसकेको तर जिल्लामा काँग्रेसको आकार दिने कार्यमा आफ्नो भूमिका महत्वपूर्ण रहेको बताए ।
संगठन विस्तारका लागि कार्यकर्ता माझ पुग्नुपर्ने र कोठाभित्र नेता कार्यकर्ता बिचको भेटघाटले पार्टी संगठन विस्तार नहुने भन्दै पार्टीमा एक व्यक्ति एक पदको नीति अनिवार्य गर्नुपर्ने उनको तर्क थियो ।
ट्रेड युनियन काँग्रेसका केन्द्रीय महासचिव कुल बहादुर खड्काले बर्तमान कानुन तथा नीति श्रमिक मैत्री नभएको बताए । सामाजिक सुरक्षाकोष पनि उपयुक्त समुदायका लागि हुन नसकेको भन्दै आफ्ना अधिकार संरक्षणका लागि श्रमिकहरु आफैं सक्रिय हुनुपर्ने उनको तर्क थियो ।
कार्यक्रममा नेपाली काँग्रेस जिल्ला समिति उपाध्यक्ष ठाकुर न्यौपाने, जिल्ला सचिव माधव ढकाल, युनियनकर्मी सन्तोष चौलागाई लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा नेपाल टे«ड युुनियन बनेपा संयोजक संगम थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम जिल्ला सभापति प्रेमप्रसाद वाग्लेको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमको संचालन जिल्ला सचिव गणेशमान लामाले गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला तथा पालिका स्तरका नेताहरु तथा विभिन्न भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
दोस्रो सत्रमा ट्रेड युनियन कर्मीहरुका लागि प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको थियो । सहभागीहरुका लागि केन्द्रीय महासचिव कुलबहादुर खड्काले प्रशिक्षण दिएका थिए ।