काठमाडौं
पछिल्लो समय लोकप्रिय बनेको सामाजिक संजाल टिकटकमा गलत सामग्री पोष्ट नर्गन गृहमन्त्रालयले विज्ञप्ति मार्फत सचेत गराएको एक हप्ता पछि सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको हो टिकटकबाट सामाजिक सद्भाव विगार्ने काम गरेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरिएको बुझिएको छ ।
टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जानेछ भनिए पनि मिति तोकिएको भने छैन ।
अघिल्लो हप्ता मात्र गृहमन्त्रालयमा बसेको बैठकमा गृहमन्त्रालय, संचार तथा सुचना प्रविधि मन्त्रालय, सुरक्षा निकाय लगायतका सरकारी निकाय एवम् टिकटकका अन्तराष्ट्रिय प्रतिनिधिहरुबीच छलफल भएको थियो ।
सामाजिक संजालको दुरुपयोग रोक्नका लागि त्यसमा प्रसारण हुने गैरकानूनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाउन दोषीउपर कानून बमोजिम कारबाही गर्न नेपाल प्रहरी साइवर व्यूरो लगायत सरकारी निकाय र टिकटकको कार्यालय, सिंगापुर बीच सहकार्य बढाउने उद्देश्यले उक्त बैठक आयोजना गरिएको विज्ञप्तिमा भनिएको थियो ।
उक्त बैठकबाट टिकटकमार्फत सामाजिक सदभाव विगार्ने,घृणा तथा विद्वेष फैलाउने, विशिष्ट व्यक्तिहरुको मानमर्दन गर्ने जातीय, धार्मिक, सामाजिक सदभाव विगार्ने र अश्लिल खालका गतिविधि तथा सामग्री हटाउन र त्यस्ता कार्य गर्ने व्यक्तिहरु पत्ता लगाई कानुनी कारवाहीको दायरामा ल्याउन सहज हुने भनिएको भए पनि अन्ततः सोमबार बसेको मन्त्रिपरिषदको बैठकबाट टिकटक बन्द गर्ने निर्णय गरेको छ ।