पनौती
स्वर्गीय पिताको पहलमा स्थापित विद्यालयमा पनौती–८, खरिबोटका राजु के.सी. ले आफ्नी पत्नीको स्मृतिमा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्राबृत्ति प्रदान गर्ने उद्देश्य सहित अक्षयकोष स्थापा गरेका छन् ।
नमूना विद्यालयको रुपमा परिचित भालेश्वर मा.विमा के.सीले उक्त कोष स्थापना गरेका हुन् । लगनशिल विद्यार्थीहरुलाई पढनका लागि हौसल्ला बृद्धि होस तथा सामान्य खर्च जुटाउन पनि कठिन भएर पढाइमा बाधा नपुगोस भन्ने उद्देश्यले कोषको स्थापना गरेको कोषका संचालक के.सीले बताए ।
कोष रकमको व्याजबाट हरेक वर्ष उक्त विद्यालयमा कक्षा १ देखि १० सम्म अध्ययन गर्ने १० जना विद्यार्थीलाई छात्राबृद्धि प्रदान गर्ने उद्देश्य सहित के.सी पत्नी तुलसाको स्मृतिमा के.सीले ७ लाखको अक्षय कोष स्थापना गरेका हुन् ।
विहीवार बिहान विद्यालयमा आयोजित कार्यक्रममा कोष स्थापना गर्ने राजु के.सी तथा उनकी धर्मपत्नी श्रीमती तारा भट्टराई केसीले उक्त रकमको चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र के.सी, शिक्षक अभिभावक संघका अध्यक्ष सन्तोषकुमार केसी र प्रधानाध्यापक रामचन्द्र थापालाई हस्तान्तरण गरेका हुन् ।
स्वर्गीय तलितकुमारी ( तुलसा) को ०२८ सालमा साविक भूमिडाँडा गाविसमा बाबु भक्तबहादुर र आमा ललितकुमारीको कोखबाट जन्म भएको थियो । २०४४ सालमा तुलसा र राजु वैवाहिक सम्बन्धमा गाँसिएका थिए । उनै तुलसाको गत बर्ष हृदयघातबाट देहवसान भएको थियो । तुलसाको स्मृतिमा परिवारको तर्फबाट उक्त कोष स्थापना गरिएको हो । तुलसा र राजुका १ छोरा र १ छोरी छन् । छोरी दिपा केसी, छोरा अमिर केसी र बुहारी रोशनी हाल विदेशमा रहेका छन् ।
कोष संचालक के.सी साविक मल्पी गा.वि.सका तत्कालिन प्रधामनपञ्च लिलाबहादुर के.सीका कान्छा सुपुुत्र हुन् । कोष स्थापना गरिएको विद्यालय भालेश्वर मा.विको संस्थापक मध्येका एक लिलाबहादुर के.सी थिए । स्वर्गीय के.सी विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष समेत हुन् । उनका जेष्ठ सुपुत्र प्रदिप के.सीले पनि सोही विद्यालयमा बुबाको स्मृतीमा यस अघि नै अक्षयकोष स्थापना गरिसकेका छन् ।
स्वर्गीय पिताको कर्मप्रति श्रद्धा गर्दै दाजुभाईबाट नै पिताको पहलमा स्थापना भएको विद्यालयमा अक्षयकोष स्थापना गर्नु खुशीको विषय भएको स्थानीय बताउँछन् । विहीवार विद्यालयमा आयोजित कार्यक्रममा कोषका लागि आवश्यक सहयोग रकमको चेक हस्तान्तरण गर्दै श्रीमती रिता भट्टराई केसीले शिक्षाको उज्यालो किरणबाट कुनै बालबालिका बञ्चित हुनु नपरोस् भन्ने उद्देश्य आफ्नो परिवारको रहेको बताइन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र केसीले कोषको मर्मअनुरुप आवस्यकता महसुस भएका तथा उत्कृष्ट विद्यार्थीलाई छात्रवृति लगायतमा कोष प्रयोग हुने बताए । शिक्षक अभिभावक संघका अध्यक्ष सन्तोषकुमार केसीले सहयोगप्रति आभार प्रकट गर्दै सदुपयोग हुने प्रतिवद्धता व्यक्त गरे ।