पनौती
वागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाईमन्त्री तीर्थ लामाले पनौती ४ मा निर्माण गरिएको पानी ट्यांकीको उदघाटन गरेका छन् ।
लामाले बागमती प्रदेशका योजना तथा लगानीमा हालै सम्पन्न भएको पनौती वडा नं.४ मा निर्मित ९२ हजार लिटर क्षमताको पानी ट्याङ्की र धारा उदघाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै उनले बाग्मती प्रदेश सरकारको एक घर, एक धाराको अभियान पूरा गर्न आफू प्रतिवद्ध भएर लागेको बताए । उनले पनौतीका सबै वडावासीलाई खानेपानी खुवाउने योजना सहित प्रस्तुत हुन पनौती नगरपालिका प्रमुख र जनप्रतिनिधिलाई अनुरोध समेत गरे । मन्त्री लामाले जनतालाई पानी खुवाउन आफ्नो मन्त्रालयबाट बजेट व्यवस्थापन गर्ने प्रतिवद्धता समेत जनाए ।
यस्तै बाग्मती प्रदेशका पुर्व कृषि तथा पशुपन्छी विकास मन्त्री बसुन्धरा हुमागाईले पनौतीमा खानेपानीको समस्या समाधान गर्न नगरपालिकालाई प्रदेश र संघीय सरकारसंग सहकार्य गराउने गरि विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार गर्न अनुरोध गरेका थिए ।
पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना सम्पन्न गर्न नसक्दा पनौतीमा खानेपानीको समस्या दिन प्रतिदिन बढ्दै गएको जनाउँदै त्यसलाई सम्पन्न गर्न तर्फ लाग्नुपर्ने धारणा राखे ।
पनौती नगर उपप्रमुख गिता बन्जारा, पनौती नगरपालिका वडा नम्बर ४ का अध्यक्ष दिपकप्रसाद दाहाल, खानेपानी तथा सरसफाइ डिभिजन नम्बर ३ कार्यालयका डिभिजनल इन्जिनियर अनिलप्रसाद केशरी लगायतले मन्तव्य राखेका थिए ।
खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालय मार्फत नै बिनियोजन भएको १५ लाख रुपैयाँबाट पनौती ४ मा ज्यालाचिटी खानेपानी उपभोक्ता समितिले निर्माण गरेको ९२ हजार लिटर क्षमताको ट्याङ्की निर्माण सम्पन्न भएको हो । समितीमार्फत नै प्रत्येक घरधुरीमा खानेपानि पनि वितरण गर्नको लागि नगरपालिकाले १२ रोल पाइप, वडा नम्बर ४ ले ९ रोल पाइप सहयोग गरेको छ ।
उपभोक्ता समितीका अध्यक्ष दिपक थापाका अनुसार, एक घर एक धारा सहित आयोजना सप्पन्न गर्न २ सय १५ घरधुरीबाट ५ हजारका दरले र ५७ नयाँ सदस्यबाट ९ हजार ५ सयका दरले रकम उठाइएको छ । पनौती चामखर्कमा रहेको मुहानको संरक्षण गरिनुका साथै २ इन्चको पाइपबाट ट्याङ्की सम्म पानी ल्याइएपछि पानी पर्याप्त भएर यहाँका करिब ३ सय घरधुरी लाभान्वित भएको अध्यक्ष थापाले जानकारी दिए ।