पनौती
पनौती नगरपालिकाले नगरका कृषकहरुलाई पशुपन्छी बिमा बापत अनुदान दिने भएको छ ।
नगरले ५० प्रतिशत रकम अनुदान दिने जनाएको छ । पनौती नगरपालिका कृषि तथा पशुपन्छी शाखाको आ.व.०८०/०८१ का लागि स्वीकृत बार्षिक कार्यक्रम अनुसार ‘पशुपन्छी बिमा प्रिमियममा ५०% अनुदान कार्यक्रम’ अन्तर्गत किसानलाई यो सुबिधा प्रदान गर्न लागेको हो ।
नगरको यो सुबिधा पाउनको लागि इच्छुक व्यक्ति/संस्थाहरुले मिति २०८० साउन १ गतेदेखि २०८० साल कार्तिक मसान्तसम्म विमा गरिएको पशुपन्छीहरुको बिमा प्रिमियम सहितको विवरण नगरमा पेश गर्न सूचित गरेको छ ।
अनुदान रकम प्राप्त गर्न मिति २०८०मंसिर २९ गते भित्र सम्वन्धीत वडा कार्यालय वा पनौती नगरपालिका कृषि तथा पशुपन्छी शाखामा तपशिलका कागजात समेत संम्लग्न गर्नुपर्ने नगरपालिकाले जनाएको छ
नगरपालिकाले संस्थागत विमाको हकमा संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपी, पशु विमा गर्न इजाजत पाएको प्रमाणको प्रतिलिपी, गत आ.व.को लेखापरिक्षण प्रतिवेदन तथा कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी, बिमा गरेको प्रमाण खुल्ने कागज (पोलिसी वा सम्झौता पत्र) को प्रतिलिपी, कार्य समितिको निर्णय प्रतिलिपी तथा रकम माग गरेको निवेदन, सम्वन्धीत वडा कार्यलयको सिफारिस पत्र आवश्यक पर्ने एक सुचना मार्फत स्पस्ट पारेको छ भने व्यक्तिगत बिमाको हकमा बिमा गरेको प्रमाण खुल्ने कागज (पोलिसी) को प्रतिलिपी, पशु धनीको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी, पशु धनीको बैंक खाताको चेक आवश्यक पर्ने जनाएको छ ।
आ. व. २०७६/ ७७ देखि नै नगरमा यस किसिमको सेवा प्रदान गर्दै आएको पनौती नगरपालिका पशुपन्छी शाखाका प्राविधिक प्रमुख लिलानाथ सापकोटाले जानकारी दिए ।