काठमाण्डौ
फेसबुक, टिकटक एक्स लगायतका सामाजिक संजाल दर्ता गरेर मात्र चलाउन पाइने निर्देसिका स्वीकृत भएको छ ।
विहीवार बसेकोे मन्त्रिपरिषद् बैठकले उक्त निर्देशिका स्वीकृत गरेको हो । फेसबुक, एक्स अर्थात ट्विटर, टिकटक, युट्यूब, इन्स्टाग्राम लगायतका सामाजिक संजालहरुलाई व्यवस्थित बनाउनका लागि उक्त निर्देशिका जारी गर्न लागिएको हो ।
निर्देशिका जारी भएपछि नेपालमा सञ्चालन हुने सामाजिक सञ्जाल अनिवार्य दर्ता गर्नुपर्ने छ । जसका लागि सूचना जारी गरिने र सूचना प्रकाशित भएको मितिले तीन महिनाभित्र त्यस्ता सामाजिक सञ्जाल प्लेटफर्मले मन्त्रालयमा सूचीकरण गर्नुपर्नेछ । सूचीकृत नभएका सामाजिक संजालका आइडी कुनै पनिबेला बन्द हुने बताइएको छ ।
निर्देशिकाले संजाललाई व्यवस्थित बनाउनका लागि बेनामे अर्थात फेक आइडी बनाउन नहुने र यस्ता आइडीबाट कुनै पनि प्रतिक्रिया जनाउन नहुने ,कुनै समुदाय, जातजाति, लिङ्ग, धर्म, उमेर, वर्ण, पेशा, सम्प्रदाय, शारीरिक तथा मानसिक अवस्था, यौनिक अल्पसङ्ख्यक, भाषाभाषी तथा कानुनले संरक्षण गरेका अन्य समूह वा वर्गलाई लक्षित गरी होच्याउने, गाली बेइज्जती गर्ने, घृणा फैलाउने, सामाजिक सद्भाव र सहिष्णुतामा आँच आउने प्रकृतिका अभिव्यक्ति दिन नपाइने उल्लेख छ ।
त्यसैगरी बालश्रम, मानव बेचबिखन, बहुविवाह, बालविवाह जस्ता क्रियाकलाप गर्न प्रोत्साहित गर्न नहुने तथा निर्देशिकाले सार्वजनिक प्रकृतिका बाहेक निजी मामिलाका फोटो भिडियो अनुमतिबिना खिचेर प्रकाशन र प्रसारण गर्न, अश्लील शब्द, तस्बिर, भिडियो, अडियो एनिमेसन प्रसारण, प्रकाशन गर्न रोकेको छ ।