बदलिँदो समय
हिजो यहि फूल फुल्दा
यस्तै चिसो चिसो हावा डुल्दा
कानमा फूल सिउरेर
आँगनीमा कुद्ने तिमीलाई हेरेर
बा आमाको मुहारमा
त्यहि फूलको सुन्दरता टल्किन्थ्यो,
हिजो
फुलपाती देखिनै
नयाँ लुगा, चङ्गा अनि पिङको लागि
तिमीले गर्ने लहडमा
बा आमाको पनि रहर मिसिन्थ्यो,
तर आज
कुनै समुद्रको डिलमा
कुनै मरूभुमिको छेउमा
भिडभित्र
भविष्यको चिन्ता बोकेर
भौतारिएका तिमीले
यहाँ फूल फूलेको देख्नै पाउँदैनौं
वृद्ध भइसक्नुभएका
बा आमाको चाउरिएको मुहारमा
फूलेका फुलहरूले
झन् विछोडका नदी बगाइदिन्छन्
त्यसैले
आजकल मलाई फूल फुलेको देख्दा
विरक्त लाग्छ
यो फूलको सौन्दर्य
यो फूलको सुगन्ध
कैले पुग्ला
त्यो परको समुद्र छेउमा
त्यो कुरुप मरुभूमिको दलदलमा ।