च्याम्राङ्गबेसी
यो वर्ष काभ्रे बेथानचोक वडा नं १ का सबै टोलमा लिङ्गे पिङ् बनाइएका छन् । वडा कार्यालयबाट पिङ् निर्माणका लागि लठारो वितरण गरिए सँगै सबै टोलहरुमा पिङहालिएका हुन् ।
नेपालीहरुको महान चाड दशैं तथा तिहारमा पिङ् हाल्ने र खेल्ने प्रचलन छ । यी चाडहरुमा पिङ् खेलेर धर्ती छोड्नुपर्ने मान्यता छ । जुन मान्यता अनुरुप पिङहाल्ने र खेल्ने गरिए पनि पछिल्ला वर्षहरुमा केही स्थानमा मात्र पिङ देख्न पाइन्थ्यो ।
लिङ्गे पिङ रोटे पिङ्को प्रचलन भए पनि अहिले रोटेपिङ भने देखिन छाडेको छ । सिमित स्थानमा हालिने लिङ्गेपिङ् यो वर्ष भने सबै टोलमा निर्माण भएका हुन् ।
युवाहरु शहर केन्द्रित हुनु । पिङ हाल्नका लागि आवश्यक बाबियोको अभाव हुनु जस्ता कारणले सिमित स्थानमा मात्र पिङहाल्ने गरिए पनि यस बर्ष वडा कार्यालयले लडारो उपलब्ध गराए सँगै सबै टोलमा पिङ् हालिएको छ ।
‘परम्पराले निरन्तरता पाओस, संस्कृतिको जगेर्ना होस, गाउँघरमा दशैंको रौनकता छाओस भनेर नै लठारो वितरण गरिएको हो ।’ वडा अध्यक्ष मधुसुदन तिमल्सिनाले बताए । तिमल्सिनाका अनुसार वडाकार्यलयको कुल २२ हजारको लागतमा पिङको लठारो वितरण गरिएको छ ।
साविकका ९ वटा वडा भए पनि वडा नं ९ मा थप १ सहित १० वटा लठारो वितरण हुने वडा कार्यालयले जनाएको छ ।