धुलिखेल
देशभरका शिक्षकहरु यतिखेर राजधानीमा आन्दोलनका क्रममा रहेका छन् । १९ औं दिनको आन्दोलनमा सहभागी बनेर काभ्रे तेमाल घर फर्कने क्रममा स्कुटर दुर्घटनामा परी एक शिक्षका घाइते भइ हाल उपचाररत छिन् ।
कालिदेबि आधारभूत विद्यालय तेमाल ७ की प्रधानाध्यापक समेत रहेकी म्हेन्दो तामाङको काभ्रेपलाञ्चोक स्थित धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
आन्दोलनकै क्रममा रहेका सहकर्मी शिक्षकहरुले शिक्षक म्हेन्दो तामाङको उपचारको लागि शिक्षकहरुबाट नै सहयोग संकलन गरी हस्तान्तरण गरेका छन् ।
उनको उपचार भइरहेको धुलिखेल अस्पतालमा आज(बुधवार) नेपाल शिक्षक महासंघ काभ्रेमा आवद्द तथा सम्बद्ध संस्थाका सबै अध्यक्षहरुको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरिएको छ ।
आन्दोलनमा सक्रिय काभ्रेली शिक्षकहरूको तर्फबाट घाइते तामाङको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै संकलित रकम ६६ हजार १ सय पाँच रुपैंया हस्तान्तरण गरिएको हो । उक्त रकम आन्दोलनमा सहभागी काभ्रे जिल्ला भित्रका शिक्षकहरुबाट संकलन भएको थियो ।
रकम हस्तान्तरण पछि सहकर्मीहरुको सुखदुःखमा शिक्षकहरु नै साथ रहेको भन्दै नेपाल शिक्षक महासंघ आन्दोलन परिचालन समिति काभ्रेका संयोजक शम्भु प्रसाद घिमिरेले तामाङको शिघ्र स्वास्थ्य लाभको कामना सहित सहयोगी शिक्षकहरुलाई हार्दिक धन्यवाद दिएका छन् ।