पनौती
पनौती नगरपालिकाको आयोजनामा हुने शैक्षिक वर्ष २०८१ को ‘राष्ट्रपति रनिङशिल्ड’ प्रतियोगिताको समुद्घाटन कार्यक्रम पौष १ गते हुने भएको छ ।
प्रतियोगिता पनौती स्थित क्षेत्रीय रंगशालामा तीन दिन सम्म संचालन हुने नगरपालिकाले जानकारी दिएको छ । प्रतियोगिता संचालनका लागि आवश्यक तयारी पूरा भएको पनौती नगरपालिका शिक्षा शाखाका स्रोत व्यक्ति महेश्वर जंगमले जानकारी दिए ।
जंगमका अनुसार प्रतियोगितामा राष्ट्रपति रनिङ्ग शिल्ड संञ्चालन निर्देशिका २०७० संसोधन सहित को व्यवस्थामा बमोजिमका खेलहरु संचालन हुने छन् । पालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुको सहभागिता रहने प्रतियोगितामा एथेलेटिक्स, रिले रनिङ, सटपुट थ्रो, लङजम्प, हाइजम्प, त्रिपलजम्प, सटपुट थ्रो, ज्याबलिङ थ्र्राे कपड्डी, भलिबल जस्ता खेलहरु समावेश छन् ।
एथेलेटिक्स रनिङ तर्फ १ सय, २ सय, ४ सय , ८ सय, १ हजार ५ सय र ३ हजार मिटर छात्रा, छत्र । रिले रनिङ तर्फ १ सय X ४ र ४सय X ४ मिटर छात्रा छात्रहरु बिच प्रतिस्पर्धा हुने छ । अन्य सबै खेलहरुमा पनि छात्रा छात्रहरुको सहभागिता रहने छ । प्रतियोगितामा नगरपालिका भित्रका २५ बढि विद्यालयका १ हजार १ सय भन्दा बढि खेलाडी विद्यार्थी सहभागी हुने अपेक्षा गरिएको नगरपालिका शिक्षा शाखाका स्रोत व्यक्ति जंगमले बताए ।
प्रतियोगितालाई व्यवस्थित र भव्य बनाउनका लागि नगर प्रमुुख रामशरण भण्डारीको अध्यक्षतामा मुल समारोह समिति निर्माण गरिएको समेत जंगमले जानकारी दिए । प्रतियोगितालाई व्यवस्थित बनाउनका लागि खेलक्षेत्रका विज्ञ तथा राष्ट्रिय खेलाडीहरु सम्मिलित आयोजक समिति निर्माण गरिएको छ ।
नगरपालिकाद्वारा हरेक वर्ष आयोजना गरिने यस प्रतियोगितालाई महत्वका साथ लिने गरिएको छ । उद्घाटन सत्रमा नगरका विभिन्न विद्यालयहरुको सहभागितामा झाँकी, स्काउट, मार्चपास तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिने नगरपालिकाले जनाएको छ ।