काभ्रे
राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा पनौती नगरपालिकाले शिक्षा क्षेत्रका विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ । सम्मान कार्यक्रममा उपस्थित अतिथिहरुले पनौतीलाई शैक्षिक हबको रुपमा विकास गर्नुपर्ने बताएका छन् ।
नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा बोल्दै नगरप्रमुख रामशरण भण्डारीले यस वर्षबाट शिक्षा दिवसको अवसरमा नगपालिकाले कार्यक्रम आयोजना गर्न शुरु गरेको बताए । शिक्षा दिवसको अवसरमा गरिएको शिक्षक कर्मचारी सम्मानले शिक्षकहरुमा उर्जा थपिने तथा उत्तरदायित्वको भावना विकास हुने भन्दै उत्कृष्टता हासिल गर्नेलाई सम्मान गर्ने कार्यको शुरुवात भएको र यसलाई निरन्तरता दिइने पनि उनको भनाई थियो ।
पनौतीका क्याम्पस तहमा पढ्ने ८४ जना विद्यार्थीलाई छात्राबृत्तिको व्यवस्था गरेको भन्दै नगरपालिकाको तर्फबाट प्रविधि लगायतका क्षेत्रमा शिक्षमा भरपुर लगानी रहेको प्रमुख भण्डारीले दावी गरे । पनौतीलाई शैक्षिक हबको रुपमा विकास गर्न नगरपालिकाले कुनै कसुर बाँकी नराख्ने उनको भनाई थियो ।
‘उत्कृष्ट शिक्षक कर्मचारी छनोटका लागि मापदण्ड निर्धारण गरिएको छ । आवश्यक सुझावका आधारमा परिमार्जन गरी कार्यपालिकाबाट पास गरिनेछ र यस प्रकारको कार्यक्रमले हरेक वर्ष निरन्तरता पाउने छ’ प्रमुख भण्डारीले भने ।
उपप्रमुख गीता बञ्जाराले पेसा प्रति सबै प्रतिबद्ध हुनुपर्ने भन्दै निरन्तरको साथ सहयोगले मात्र सफलता हात लाग्ने बताइन् । सामुुदायीक र संस्थागत विद्यालयको विभेद अन्त्य गर्नुपर्ने भन्दै अब बन्ने शिक्षा ऐनले विभेदपूर्ण शिक्षाको अन्त्य गर्नुपर्ने उल्लेख गरिन् । पछिल्लो समय आलोचना र खेद्ने संस्कारको विकास भएको भन्दै अमुक पक्षबाट संचालन हुने फेसबुक पेजहरुको असर शैक्षिक क्षेत्रमा पनि पर्न थालेको उल्लेख गरिन् ।
शिक्षा शाखा प्रमुुख तथा निर्देशक प्रणराज न्यौपानेले अहिलेको समयमा शिक्षा नपुगेको घर र शिक्षा नपाएको बालबालिका हुनै नसक्ने भन्दै दिर्घकालिन भविष्यका लागि शिक्षामा लगानी गर्न जरुरी रहेको बताए । उनले शिक्षाको प्रतिफल ढिला गरी पाउने भन्दै प्रतिफल प्राप्त भए पछि त्यसमा दिगोपन रहने उनको भनाई थियो । नगरभित्रका विद्यालयहरुको शैक्षिक उपलब्धि प्रस्तुत गर्दै शिक्षाको गुणस्तर निरन्तर बृद्धि भइरहेको उनले जानकारी गराए । यसका लागि जिम्मेवार पक्ष सबैले चासो दिनु जरुरी रहेको उनको विचार छ ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्यले शैक्षिक उन्नतिका लागि पुरस्कारको व्यवस्था हुनुपर्ने भन्दै असल कार्यको मूल्यांकन सहितको सम्मानले अपनत्वको भावना विकास हुने बताए ।
नेपाल शिक्षक महासंघ पनौतीका अध्यक्ष उद्धव बोलखेले पनौती नगरपालिकाले शैक्षिक क्षेत्रको विकासका लागि गरेका कार्य प्रशंसनीय भएको बताए । सबैको शिक्षा लिन पाउने अधिकारको सम्मान हुनुपर्ने भन्दै संस्थागत र निजी विद्यालय बिच द्वन्द्वात्मक नभइ समन्वयात्मक वातावरण हुनेपर्नेमा जोड दिए ।
पनौती नगरपालिका वडा नं ११ का वडा अध्यक्ष विपेन्द्र लामाले पनौती नगरपालिकाले शैक्षिक गुणस्तर व्यवस्थापनका लागि प्रशस्तै काम गरेको बताए । जनशक्ति व्यवस्थापनका लागि यसै वर्ष शिक्षक मिलान कार्य सम्पन्न गरेको भन्दै शैक्षिक गुणस्तर अभिबृद्धिका लागि सबै आफ्नो क्षेत्रबाट लाग्नुपर्ने विचार व्यक्त गरे । वडा नं ५ का वडा अध्यक्ष विनोद खत्रीले यस प्रकारका कार्यक्रमले शिक्षा दिवसको सार्थकता प्राप्ति हुने विचार व्यक्त गरे ।
बुद्धिजिवी तथा सम्मानित व्यक्तित्व केशब थापाले पनौतीको शैक्षिक विकासमा योगदान पुर्याउने व्यक्तित्वहरुको स्मरण गर्दै । सबैले आफ्नो दायित्व पुरा गरेमात्र लक्ष्य प्राप्ति हुने विचार राखे ।
अर्का सम्मानित व्यक्तित्व रामचन्द्र थापालेले नगरपालिकाले शिक्षक लगायत शैक्षिक क्षेत्रमा योगदान पुर्याउनेहरुलाई सम्मान गरेर प्रोत्साहन प्रदान गरेको बताए । कार्यक्रमका वक्ताहरुले यसप्रकारको कार्यक्रमले निरन्तरता पाउनुपर्ने भन्दै पनौतीलाई शैक्षिक हबहबको रुपमा विकास गर्नुुपर्नेमा जोड दिएका थिए ।
शिक्षासँग सम्बन्धित विभिन्न क्षेत्रका व्यक्तित्वहरु अतिथिका रुपमा रहेको कार्यक्रमको संचालन शिक्षा शाखाका स्रोत व्यक्ति महेश्वर जंगमले गरेका थिए ।
कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरु र्याली सहित उपस्थित भएका थिए । कार्यक्रममा उनीहरुको विविध सांस्कृतिक प्रस्तुती रहेको थियो ।
कार्यक्रममा शिक्षा प्रेमी व्यक्तित्वहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, शिक्षक अभिभावक संघ, पनौती शिक्षा शाखाका पूर्व प्रमुख, दरबन्दी मिलान कार्यमा सहजीकरण गर्ने व्यक्तित्वहरु, उत्कृष्ट प्रधानाध्यापक, शिक्षक, विद्यालय कर्मचारील लगायतलाई खाखा तथा सम्मान कदर पत्रले सम्मान गरिएको थियो भने गत शैक्षिक सत्रको कक्षा ८ , एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने सामुदायीक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुलाई नगद, प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो ।