पनौती । पनौती खरिबोट क्षेत्रको कृषि कार्यमा सहजिकरण गर्ने संस्थाको नाम हो मध्यमार्ग कृषि सहकारी संस्था लिमिटेड । कृषकको सारथीको रुपमा रहेको उक्त संस्थाले यस क्षेत्रका कृषकका लागि विभिन्न संस्थासंगको समन्वयमा कार्यहरु गर्दै आएको छ ।
यसै क्रममा उक्त सहकारीले आफूले गरेका कार्यहरुम पारदर्शीता प्रादान गर्ने उद्देश्य सहित सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाले यस अर्थिक वर्षमा जिल्ला कृषि विकास कार्यालय काभ्रेको सहयोगमा उच्च प्रविधियुक्त संरचनामा तरकारी खेती कार्यक्रमअन्तर्गत १५ लाख ९८ हजार एक सय ८४ रुपैयाँ र कृषक र साझेदारी संस्थाबाट ९ लाख ७९ हजार ४ सय ३४ रुपैयाँ गरी कुल २५ लाख ७७ हजार ६ सय १८ रुपैयाँको लागतमा २७ वटा बाँसको टनेल र १५ वटा फलामको फ्रेमबाट निर्मित आधुनिक टनेल निर्माण गरेको थियो । उक्त कार्यक्रमको पारदर्शीताका लागि सार्वजनिक सुनुवाई कार्यक्रममा आयोजना गरेको संस्थाका अध्यक्ष प्रदीप केसी बञ्जाराले जानकारी दिए ।
उनले टनेलहरुमा थोपा सिंचाईं प्रविधि र ह्वाइटनेट बारयुक्त संरचना तयार गरी टनेलहरु निर्माण गरिएको हो भन्दै गत वर्ष कृषकहरुलाई ५० प्रतिशत अनुदानमा प्लाष्टिक टनेल १४ सय थान, स्प्रे १ सय थान र हाते ट्याक्टर १७ थान वितरण गरिएको स्मरण समेत गराए ।
उक्त प्रविधिबाट स्थानीय १२ जना किसान परिवार प्रत्यक्ष लाभान्वित हुनेछन् भने कुल टनेलबाट ७५ हजार ६ सय केजी गोलभेडा उत्पादन हुने संस्थाको प्रक्षेपण छ । ‘यो क्षेत्रबाट यो पटक गोलभेँडा बिक्रिबाट १ करोड १३ लाख ४० हजार रुपैयाँ आम्दानी हुने अनुमान छ ।’संस्थाका अध्यक्ष के.सीले बताए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख अतिथि पनौती नगरपालिकाका उपप्रमुख गिता बञ्जाराले मध्यमार्ग कृषि सहकारी संस्था लि.ले जिल्लामै उत्कृष्ट कार्यको थालनी गरेको भन्दै यस प्रकारका कार्यक्रमहरुलाई निरन्तरता दिँदै गए पालिकाबाट पनि कार्यक्रमहरु दिन सकिने बताइन् ।
वडा अध्यक्ष वेदप्रसाद बञ्जाराले कृषकहरुलाई आवश्यक मल बिउ, कृषि सामग्री वितरण गरी यस सहकारी संस्थाले उदाहरणीय कार्य गरेको बताउँदै आगामी वर्षमा सहकारीलाई वडाबाटै बजेटको व्यवस्था मिलाउने तयारी भएको बताए । त्यस्तै वडा नं. ४ का वडा अध्यक्ष दीपकप्रसाद दाहालले आफूले वडाबाट काम गर्नसक्ने सहकारीहरुलाई सक्दो सहयोग गर्ने वचनबद्धता व्यक्त गरे ।
बेथानचोक गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष मधुसुधन तिमल्सिनाले मध्यमार्ग कृषि सहकारी संस्थाले उत्कृष्ट कार्यको थालनी गरेकोले बेथानचोक गाउँपालिकाले पनि यस्ता सहकारीहरुलाई कार्यक्रम दिएर कृषिमा आत्मनिर्भर बनाउन सहयोग गर्ने योजना बनाउने तयारी भइरहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा सञ्चारकर्मीहरु नेपाल समाचार पत्र दैनिकका रामकृष्ण चापागाईं, रोशी खबर साप्ताहिकका सम्पादक राजन दाहाल, मध्यपूर्व रेडियोका रामकृष्ण बञ्जारा, पनौती वडा नं. ८ का नगर सदस्य विश्वनाथ श्रेष्ठ लगायत कुल ६० जना व्यक्तिहरुको उपस्थिति रहेको थियो ।