पनौती
बिन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा गठित पनौती सेवाकार्यालयको आयोजनामा एक दिवसीय निःशुल्क दन्त शिविर सम्पन्न भएको छ ।
ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं १० कमलादेवी मा.वि फेदीखोलामा शिविर सम्पन्न भएको हो । सामुदायिक उत्तरदायित्व अनुरुप फर एभर डेन्टल केयर प्रा.लिको प्राविधिक सहयोग तथा कालिका मा.वि महालक्ष्मी नगरपालकाको व्यवस्थापन सहयोगमा उक्त शिविरको आयोजना गरेको थियो ।
शिविरबाट कुल १ सय २५ जना स्थानीयले सेवा लिएका थिए । शिविरमा दन्त सरसफाईका सामग्री समेत वितरण गरिएको सेवा कार्यालय सचिव रघुनाथ हुमागाईले बताए ।
६५ हजार शेयर सदस्य तथा ५ अर्ब कुल पुँजी रहेको संस्थाले हाल काभ्रे, काठमाडौं,ललितपुर र भक्तपुर जिल्लालाई आफ्नो कार्यक्षेत्र बनाएर सेवा दिइरहेको छ ।
सामाजिक उत्तरदायित्व अनुरुप संस्थाले रक्तदान, सरसफाई कार्यक्रम, स्वास्थ्य शिविर तथा किसानहरुका लागि निःशुल्क कृषि प्राविधिक उपलब्ध गराउँदै आएको संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठले कार्यक्रममा जानकारी दिए ।