काभ्रे
जिल्लामा सवारी दुर्घटना न्यूनिकरण तथा सडक सुरक्षका लागि भन्दै ट्राफिक प्रहरीले आफ्नो सक्रियता बढाएको छ ।
सधै राजमार्ग तथा मुख्य सडकहरुमा मात्र चेकजाँचमा खटिने ट्राफिक प्रहरी एक्कासी ग्रामीण सडकहरुमा पनि सुरक्षा चेकजाँचमा उत्रिन थालेका छन् । यसैक्रममा ट्राफिक प्रहरीले पनौती नगरपालिका अन्तर्गतका ग्रामीण वडाहरुका सडकहरुमा पनि आकस्मिक चेकजाँच गरेको छ ।
चेकिङका क्रममा हेलमेट प्रयोग नगरी सवारी चलाउने ,कागजात साथमा नराखि सवारी चलाउने ,सिटक्षमताभन्दा वढि बालबालिका राख्ने स्कुल बस तथा यात्रुबाहक सवारी गरी २३ वटा सवारी साधनलाई कारबाही गरेको प्रहरीले जनाएको छ ।
पनौती नगरपालिकाका ग्रामीण सडकहरुबाट १ मोटरसाइकल होल्ड गर्नुका साथै २ सय ५० वटा ट्राफिक नियम तथा सडक सचेतना पम्लेट वितरण एवं करिब ३००जना यात्रुलाई सम्झाई बुझाइ गरेको थियो ।
यस अघि जिल्ला ट्राफिक प्रहरी कार्यालय र स्थानीय प्रहरी चौकीको सहकार्यमा जिल्लाको मन्डनदेउपुर नगरपालिका र पाँचखाल नगरपालिकाका ग्रामीण सडक खण्डहरूमा आकस्मिक चेकचाँच गरेको छ ।
उक्त चेकिङमा कागजात साथमा नबोक्ने तथा ट्राफिक नियम उल्लङ्घन गर्ने ४१ जनालाई कारबाही गर्नुकासाथै १ थान मोटर साइकल होल्ड गरि पाँचखाल पोष्टमा राखिएको प्रहरीले जनकारी दिएको छ ।
ती पालिकाका ग्रामीण सडकहरुबाट पनि सडक सुरक्षा सचेतना तथा ट्राफिक नियम सम्बन्धि सचेतना मुलक पर्चापम्लेट २ सय थान बितरण गर्नुका साथै ३ सय ५० जना यात्रुलाई सम्झाई बुझाई गरेको थियो ।
ट्रफिक प्रहरीले ध्वनि प्रदुषणले जनजीवनमा पारेको नकारात्मक प्रभाव नियन्त्रण तथा सवारी दुर्घटना नियन्त्रणका लागि सवारी साधनमा अनावश्यक जडान गरिएका प्रेसर हर्न र झिलिमिलि ,फग्स लाइट तथा झल्लर प्रयोग गर्नेहरुलाई पनि कारबाही गरेको छ ।
ती वस्तुहरुको प्रयोगबाट हुने सवारी दुर्घटना नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोक र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलिले जिल्लाका विभिन्न १० स्थानमा मालवाहक तथा यात्रुवाहक सवारी साधन चेकजाँच गरि २ सय ३० सवारीसाधन बाट प्रेसर हर्न निकालिएको ५५ वटा सवारीसाधनबाट अनावश्यक लाइट तथा झल्लर हटाएको जानकारी दिएको छ ।
ग्रामीण क्षेत्रमा ट्राफिकको उपस्थिति नहुँदा सवारी नियम पालना नगरी चलाउनेहरु बढिरहेका बेला ट्राफिक प्रहरीको उक्त अभियानले धेरैलाई सचेत बनाएको छ । दुर्घटना नियन्त्रण तथा नियमपालना गराउनका लागि प्रहरीको उक्त कार्यले निरन्तरता पाउनुपर्ने सर्वसाधरणको भनाई छ ।