पनौती
पनौती नगरपालिका नै बालश्रम मुक्त पालिका घोषणाको तयारीमा छ । यसै क्रममा विहीवार एकै दिन नगरपालिकाका २ वटा वडा बलश्रम मुक्त वडा घोषणा भएका छन् ।
नगरपालिकाको वडा नं २ मा बिहान र वडा नं ६ मा दिउँसो भएको औपचारिक कार्यक्र बिच बालश्रम मुक्त वडा घोषणा गरिएको छ । नगरपालिकाका ११, ८ र ५ यस अघि नै बालश्रम मुक्त वडा घोषणा भइसकेका छन् ।
वडा नं ६ स्थित गोरखनाथ आधारभूत विद्यालय प्राङ्गणमा भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख रामशरण भण्डारीले संविधानमा उल्लेख भए बमोजिमका बाल अधिकार रक्षाको जिम्मेवारी स्थानीय तहको भएको भन्दै आफ्नो पालिका बालअधिकार संरक्षणमा सधै जिम्मेवार रहने बताए ।
उपप्रमुख गीता बञ्जाराले बलश्रममुक्त वडा निर्माण तथा घोषणामा सबै पक्ष उतिकै जिम्मेवार भएको भन्दै सहयोग पुर्याउने सबैलाई धन्यवाद दिइन् । वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले स्वार्थ त्यागी पारदर्शीरुपमा संचालित कार्यक्रम सधै सफल हुने विचार व्यक्त गरे ।
कार्यक्रममा नगरप्रमुख भण्डारीले वडा नं ६ का वडा अध्यक्ष भीम प्रसाद आचार्यलाई बलश्रम मुक्त वडाको प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै वडा अध्यक्ष आचार्यले बालमैत्री नगर घोषणा गरेको समयमा बालबालिका सम्वन्धी ऐन २०६८ ले ३९ वटा सुचक पुरा गरेको र हाल थपिएका १२ सूचकहरु पनि पुरा गरी वडा बालश्रममुक्त घोषणा हुन सफल भएको बताए ।
बालश्रममुक्त घोषणा कार्यमा सघाउ पुर्याउने विभिन्न संघ संस्था तथा व्यक्तिहरुलाई प्रमाणपत्र वितरण गरिएको कार्यक्रममा वडा भित्रका विभिन्न बालसमूहहरुले विविध सांस्कृतिक कार्यक्रम तथा सडक नाटक प्रस्तुत गरेका थिए ।
अर्का अतिथि बालबालिका हेर्ने शाखाअधिकृत केशब बञ्जाराले सिंगो नगर नै बालश्रममुक्त घोषणा हुने क्रममा रहेको हाल सम्म ६ वटा वडा बालश्रममुक्त घोषित भइसकेका र बाँकी पनि छिट्टै घोषणाको चरणमा रहेको उनले बताए । उनका अनुसार वडा नम्वर ३ मा फागुन २७ गते, वडा नम्वर १० आगामी ३० गते बालश्रममुक्त घोषणा कार्यक्रम रहेको छ ।
दुवै वडामा भएको कार्यक्रममा वडा अध्यक्षहरु, जनप्रतिनिधि, पूूर्व जनप्रतिनिधि ,कर्मचारीहरु, विभिन्न संघ संस्था तथा विद्यालयका प्रधानाध्यापक शिक्षक, विद्यार्थी सामाजिक संघ संस्थाका प्रतिनिधिहरु पत्रकार लगायतको सहभागिता रहेको थियो । पनौतीमा भएको कार्यक्रममा जनप्रतिनिधि दिपक खड्काले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम संचालन समाजिक परिचालक सरिता गजुरेलले गरेकी थिइन् ।