पनौती
पनौती स्थित सिद्धार्थ वनस्थली इन्ष्टिच्यूट, मल्पीमा “लक्ष्मण राजवंशी स्मृति शिक्षा सम्मान कार्यक्रम” भव्यतापूर्वक सम्पन्न भएको छ ।
विद्यालयका संस्थापक स्वर्गीय लक्ष्मण राजवंशीको स्मरणमा विद्यालयले कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रम गुठियार प्रमुख क्याप्टेन रामेश्वर थापाको सभापतित्वमा भएको थियो । कार्यक्रममा प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई काभ्रेका प्रमुख श्री देवका ढकालको उपस्थिति रहेको थियो । विशिष्ट अतिथिहरू जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख, प्रहरी उपरिक्षक बसुन्धरा खड्का र प्याब्सन केन्द्रका उपमहासचिव भिमसेन के.सी. रहेका थिए ।
कार्यक्रमको औपचारिक सुरुवात संस्थापक प्रिन्सिपल स्व. लक्ष्मण राजवंशीको तस्वीरमा प्रमुख अतिथि, विशिष्ट अतिथि र गुठियार प्रमुखद्वारा गरिएको संयुक्त माल्यार्पणबाट भएको थियो ।
कार्यक्रममा शिक्षासेवी र सामाजिक अभियन्ताहरूलाई सम्मान थियो । सिद्धार्थ वनस्थली इन्ष्टिच्यूटको गुठियार समितिको निर्णय अनुसार काभ्रेको शैक्षिक विकासमा अतुलनीय योगदान पु¥याउने व्यक्तित्वहरूलाई हरेक वर्ष प्रदान गरिने “लक्ष्मण राजवंशी स्मृति पुरस्कार” यस वर्ष पनौती नगरपालिकाका छ जना विशिष्ट व्यक्तिहरूलाई सम्मान गरिएको छ ।
सम्मानित हुनेहरूमा सुमित्रा बज्राचार्य,रुपेश के.सी.,सूर्य प्रकाश देउजा, प्रेमबहादुर प्रधान, भीमबहादुर थापा र राम प्रसाद अधिकारी रहेका छन् । “लक्ष्मण राजवंशी स्मृति पुरस्कार” रूपमा राम प्रसाद अधिकारीलाई नगद रु २५ हजार रुपैंया नगदसहित पुरस्कृत गरिएको थियो ।
सम्मानित व्यक्तित्वहरूमध्ये श्री रामप्रसाद अधिकारीले मन्तव्य व्यक्त गर्दै शिक्षाको महत्व र यस क्षेत्रमा आफूले गरेको योगदानलाई स्मरण गरेका थिए ।
विशिष्ट अतिथि भिमसेन के.सी.ले निजी विद्यालयहरूले शिक्षा क्षेत्रमा पु¥याएको योगदान र आगामी चुनौतीहरूबारे प्रकाश पारेका थिए । प्रहरी उपरिक्षक श्री बसुन्धरा खड्काले शिक्षाको महत्वलाई समाजको शान्ति र सुरक्षासँग जोड्दै विद्यार्थीहरूलाई अनुशासित र जिम्मेवार नागरिक बन्नु पर्ने बताइन् ।
प्रमुख अतिथि देवका ढकालले सिद्धार्थ वनस्थली इन्ष्टिच्यूटको उदाहरणीय कार्यको प्रशंसा गर्दै शिक्षाको गुणस्तर वृद्धि र सबैको पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकता औँलयाएकी थिइन् । उनले भनिन् , “शिक्षा समाजको जग हो र यसलाई बलियो बनाउन समर्पित व्यक्तिहरूको सम्मान गर्नु भावी पुस्तालाई समेत उत्प्रेरित गर्ने कार्य हो।” संस्थागत बिद्यालयहरुले राज्यको नियम कानुनलाई मान्नुपर्ने र सोही अनुसार चल्नुपर्नेमा उनको जोड थियो ।
कार्यक्रमको सभापति क्यप्टेन रामेश्वर थापाले सिद्धार्थबाट पास आउट भएका विद्यार्थीहरु देशको उच्च तहमा पुगेको स्मरण गर्दै यसलाई अझ सवल र यहाँबाट प्रदान हुने शिक्षा अझ प्रभावकारी बनाउनुपर्ने धारणा राखेका थिए ।
गुठियार प्रमुख समेत रहेका क्याप्टेन थापाले आफ्नो सम्बोधनमा स्व. लक्ष्मण राजवंशीको शिक्षाप्रतिको दूरदृष्टि र समर्पणको चर्चा गर्दै सम्मानित व्यक्तित्वहरूको योगदानको उच्च मूल्याङ्कन गरेका थिए । कार्यक्रमको सञ्चालन प्रवीण दाहालले गरेका थिए । कार्यक्रममा बिद्यालयका शिक्षक, वडा अध्यक्ष लगाएत जनप्रतिनिधि साथै शैक्षिक व्यक्तित्वहरुको उपस्थित रहेको थियो ।