पठनपाठन, परीक्षा, नतिजा प्रकाशन र भर्ना प्रक्रिया अवरुद्ध भएकोप्रति महासंघले गम्भीर चासो व्यक्त
काभ्रे
विगत ३ हप्ता देखि शिक्षकहरु सडक आन्दोलनमा छन् । नयाँ शैक्षिक शत्रको शुरुवात सँगै शिक्षकहरु आन्दोलत भएपछि भर्ना अभियान प्रभावित बनेको छ ।
शिक्षकहरुको आन्दोलन चलिरहँदा शिक्षा मन्त्रीले राजिनामा दिएसँगै आन्दोलनको विषय थप पेचिलो बनेको छ ।
यसै क्रममा शिक्षक आन्दोलन प्रति पहिले नै ऐक्यबद्धता जनाइ सकेको विद्यालय व्यवस्थापन समिति महासंघले सडक आन्दोलनको तीन हप्ता पूरा हुँदा पनि सरकारले माग सम्बोधन नगरेको भन्दै चिन्ता व्यक्त गरेको छ । महासंघले आज एक विज्ञप्ति जारी गर्दै चिन्ता व्यक्त गरेको हो ।
अध्यक्ष गुणराज मुक्तानद्वारा हस्ताक्षरित विज्ञप्तिमा तत्काल विद्यालय शिक्षा ऐन जारी हुने विश्वसनीय आधारसहितको कार्यतालिका ल्याउन सरकार र सम्बद्ध पक्ष समक्ष माग गरिएको छ ।
आन्दोलनका कारण देशभरका करिब २८ हजार सामुदायिक विद्यालयका लाखौं विद्यार्थीको पठनपाठन, परीक्षा, नतिजा प्रकाशन र भर्ना प्रक्रिया अवरुद्ध भएकोप्रति महासंघले गम्भीर चासो व्यक्त गरेको छ ।
संविधान जारी भएको एक दशक बितिसक्दा पनि नयाँ शिक्षा ऐन आउन नसक्नु दुःखद भएको बताउँदै महासंघले नागरिकको हैसियतले शिक्षक महासंघको नेतृत्वमा भएको आन्दोलनलाई बेवास्ता नगर्न सरकारलाई आग्रह गरेको छ ।
समस्याको गम्भीरतालाई मध्यनजर गर्दै तत्काल वार्ता र सहमतिको माध्यमबाट आन्दोलनको स्वरूप परिवर्तन गर्न समेत शिक्षक महासंघलाई विज्ञप्ति मार्फत सुझाव दिइएको छ ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले शिक्षकहरूको जायज मागलाई समर्थन गर्दै विद्यार्थीहरूको भविष्य सुनिश्चित गर्न सरकार र शिक्षक दुवै पक्षलाई लचकता अपनाउन आग्रह गरेको छ ।