काभ्रे ।
किशोरहरू प्रविधिमा रमाइरहेका बेला काभ्रेपलाञ्चोकको पनौतीका १४ वर्षीय सगर्व न्यौपानेको रुचिको विषय भने भिन्न बनेको छ । उनी अहिले आत्मबोध र योगमार्फत् जीवनको सार खोजिरहेका छन् । जन्मसिद्ध योग साधकजस्तै लाग्ने सगर्व जीवन विज्ञान अन्तर्गतका एक प्रतिभाशाली योग प्रशिक्षक हुन् । बाबु गोविन्द कल्याण मित्र र आमा शारदा कल्याण मित्र स्वयं योग प्रशिक्षक भएका कारण उनले रुचि अनुसारको सहज वातावरण पाएका हुन् ।
उनी पनौती नगरपालिका वडा नं ६ काभ्रेपलाञ्चोकमा बस्छन् । माता–पिताको साधनामा समाहित हुने अवसर पाएका सगर्वको जीवनशैली नै भिन्न देखिन्छ । उनको अनुहारमा शान्त भाव, बोलीमा गम्भीरता र व्यवहारमा नम्रता छ, जुन प्रायः किशोरहरुमा विरलै देखिन्छ । उनले दैनिक ध्यान र योग अभ्यासलाई जीवनको अभिन्न अङ्ग बनाएका छन् । जसको प्रमाण उनका अभिव्यक्तिहरूमा आध्यात्मिक गहिराइ पाइन्छ, जसले जुनसुकै उमेर समूहका मानिसलाई समेत प्रभावित पार्न सक्छ ।
योग गुरुका रुपमा ‘सगर्व कल्याण मित्र’को परिचय पाएका उनका पिता योग प्रशिक्षणमा गोविन्द कल्याण मित्र र माता शारदा कल्याण मित्रका रुपमा परिचत छन् । सगर्वले योग मात्र सिकाउँदैनन्, उनी आत्मज्ञान, शारीरिक सन्तुलन र मानसिक अनुशासनको पनि प्रवद्र्धन गर्छन् । ‘उनी सानै देखि भिन्न स्वभावका थिए । गलत मानिने कुनै पनि क्रियाकलाप प्रति उनको रुचि थिएन ।’ बाबु गोविन्द न्यौपानेले भने । सगर्वका लागि उनका माता–पिता गुरु मात्र नभएर जीवन पथका साथी पनि हुन् । उनले सञ्चालन गर्ने प्रशिक्षण कक्षामा सहभागी हुनेहरू उनका सन्दर्भमा भन्छन्:‘उनको प्रशिक्षण शैली यस्तो छ, जुन उमेरले भन्दा अनुभूतिको परिपक्वताबाट निर्देशित देखिन्छ ।’ सगर्वका हरेक आसन र प्राणायाम सिकाउने तरिका लोभलाग्दो मात्र होइन, ज्ञान र विश्वासले भरिएको हुन्छ ।
उनी अहिले पनौतीको भालेश्वर मा.विमा कक्षा ९ मा अध्ययन गर्छन् । पढाइमा समेत अब्बल उनी कक्षाका प्रथम छात्र हुन् । विद्यालय शिक्षासँगै उनी योगको ज्ञानलाई पनि गहिराइमा अध्ययन गर्दैछन् । स्वअनुशासन, नियमितता र आध्यात्मिक झुकावले उनलाई अन्य किशोरहरूभन्दा भिन्न बनाएको छ । सगर्व आफूलाई ‘साधक’ को रुपमा परिचित गराउन रुचाउँछन् – योग प्रशिक्षकभन्दा यो पहिचान उनलाई बढी मन पर्छ । उनका अनुसार, ‘योग केवल शारीरिक व्यायाम होइन, यो त आत्माको अनुशासन हो।’ उनले सिकाउने योग कक्षामा बच्चादेखि जेष्ठ नागरिकसम्म सहभागी हुन्छन्, जसले योगको सार बुझ्न उनको उपस्थितिलाई महत्वपूर्ण मान्छन्।
टेक्नोलोजी प्रति उनलाई पनि चाह त छ तर सामाजिक सञ्जालभन्दा बढी पुस्तकमै ध्यान केन्द्रित गर्ने उनका बाबुुको भनाई छ । उनी योग, अध्यात्म, प्रविधि तथा साहित्यका पुस्तकहरुलाई चासोका साथ पढ्ने गर्छन् । सगर्वका अभिभावक पनि उनको लगन र समर्पणप्रति गर्व गर्छन् । आमा शारदा भन्छिन्, ‘हामीले देखाएको बाटोमा हिँड्न उसले जुन सहजता र श्रद्धा देखाएको छ, त्यो आजका धेरै किशोरहरूका लागि प्रेरणा हो।’
नेपाली समाजमा बढ्दो तनाव, मानसिक अशान्ति र भौतिकता बीच उनले योगलाई सशक्त समाधानका रूपमा प्रस्तुत गर्न सक्ने क्षमता राख्छन्। यति सानो उमेरमै उनले देखाएको समर्पण र ज्ञानले उनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा एक उदाहरणीय योग गुरुको रूपमा उभ्याउने निश्चित छ।
सगर्व न्यौपाने, नाम जस्तै सबैका लागि ‘सगर्व’ बनेका छन् । उमेरले सानो तर विचारले विशाल बनेका यी बाल योगीले नेपाली समाजमा आध्यात्मिक चेतनाको ज्योति फैलाउने संकेत गरिसकेका छन्। भविष्यमा उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा योग प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ।