काभ्रे
पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको खोप अभियान अन्तर्गत आजबाट एच पी भी खोप लगाउन शुरु गरिएको छ ।
पाठेघरको मुखको क्यान्सरका कारण विश्वमा हरेक वर्ष ५ लाख ७० हजार बढिको मृत्यु हुने गरेको तथ्यांक छ । नेपालमा यहीँ कारण वार्षिक औषत १ हजार ३ सय १३ जनाको मृत्यु हुने गरेको तथ्यांक छ ।
महिलाहरुमा हुने क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारणको रुपमा लिइन्छ । विश्व स्वास्थ्य संगठनले पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याको रुपमा रहेको अवस्थामा निवारण गर्ने लक्ष्य लिएको छ । सोही लक्ष्य अनुरुप आजबाट एच पि भी खोप लगाउन शुरु गरिएको हो ।
देशभर १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरुका लागि अभियानमा खोप लगाइने छ । अभियान अन्तर्गत विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका सबै विद्यार्थी र समुदाय स्तरमा १० देखि १४ वर्ष सम्मका किशोरीहरुका लागि एच पि भी खोप लगाइने जनाइएको छ ।
आज माघ २२ गतेबाट शुरु भएको अभियान आगमी फागुन ६गते सम्म देशभरी एकै पटक संचालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप अभियानमा देशभर १८ हजार नौ सय विद्यालयका खोप केन्द्र र आठ हजार दुई सय अन्य खोप केन्द्र रहने र २७ हजार ८० स्वास्थ्यकर्मी परिचालन हुने बताइएको छ ।
त्यसैगरी ५४ हजार एक सय ६० स्वयंसेवक खटाइनेछन् भने १५ हजार छ सय ७४ जना सुपरिवेक्षकहरू संलग्न हुनेछन् ।
यस खोपलगाउँदा पाठेघरको मुखको क्यान्सरबाट बच्न सुरुआती अवस्थामा निदान भई उपचार गर्न सकिए यो रोगबाट बच्न सकिने चिकित्सकहरुले बताएका छन् । पाठेघरको मुखमा हुने क्यान्सरमध्ये ९० प्रतिशतभन्दा बढी क्यान्सर एचपीभीले गराउँने गरेको तथ्यांक छ । एचपीभी खोप लगाएपछि यसले ९० देखि ९५ प्रतिशतसम्म सुरक्षा दिने भएकाले ढुक्क भएर खोप लगाउन चिकित्सकहरुको अनुरोध रहेको छ ।
राष्ट्रिय खोप कार्यक्रममा एचपीभी खोप समावेश गर्न सरकारले आर्थिक वर्ष २०७२÷७३ र आव २०७३÷७४ मा गाभीको सहयोगमा कार्यक्रम सञ्चालन तथा अध्ययनका लागि कास्की र चितवनमा सफलतापूर्वक ‘पाइलट कार्यक्रम’ सञ्चालन गरेको थियो । अभियानको पहिलो दिन काभ्रे पनौती नगरपालिकाका विभिन्न वडाहरुमा खोप लगाइएको थियो । वडा नं ६ को सरस्वती कुञ्ज बोर्डिङ स्कुल केन्द्रमा कुल ४८ जना किशोरीहरुका लागि खोप लगाइएको छ ।