हिउँद तथा सुुख्खा याममा हरेक वर्ष वन जंगल क्षेत्र आगलागीको मारमा पर्ने गरेको छ । डडेलो लाग्नुका विविध कारणहरु हुन्छन् । मानवीय तथा प्राकृतिक दुई कारणबाट आगलागी हुने गरेको छ । यी दुई कारणहरु मध्ये पनि प्राकृतिक कारणले आगलागी हुने सम्भावना अत्यन्तै न्यून रहन्छ । मानवीय स्वार्थका कारण नै वन जंगलमा आगलागीका घटना अधिक हुने गरेका छन् । चेतनाको अभावका कारण क्षणिक र सामन्य फाइदाका लागि लगाइएको आगोको प्रत्यक्ष तथा दीर्घकालिन असरका विषयमा सबैलाई जानकारी गराउनु जरुरी छ ।
आगलागीले जंगल नजिकका वस्तीमा विपद निम्तिन सक्छ । वातावरणमा विभिन्न नकरात्मक असर पु¥याउँछ । यसको प्रभाव प्रत्यक्ष वायुमण्डलमा देखिए पनि परोक्ष जैविक विविधता, माटो, जलस्रोत र मानव स्वास्थ्यमा पनि गम्भीर असर पार्छ । आगलागीका कारण कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड, मीथेन, नाइट्रस अक्साइड र हानिकारक कण उत्सर्जन हुन्छ । जुन विषाक्त पनि हुने गर्छ । ग्रीनहाउस प्रभाव बढाउँछ जसले पृथ्वीको तापमानमा वृद्धि गर्न मद्दत पुर्याउँछ र बर्तमानको टडकारो समस्या जलवायु परिवर्तनको जोखिम झनै बढाउँछ । वायुमण्डलमा अस्वस्थ धुवाँ फैलिन्छ,मानव र पशुपक्षीको स्वास्थ्यमा नकरात्मक असर पार्छ । कारण श्वासप्रश्वासका समस्या र आँखामा जलन उत्पन्न गर्न सक्छ ।
वन्य क्षेत्रमा रहेका पशुपंक्षी जनावर लगायतका जैविक तत्व नास हुन्छ । वनस्पति र जीवजन्तुहरूको आवासमा क्षति पुर्याउँछ । जैविक विविधता र पारिस्थितिक प्रणालीमा असर पर्छ । आगलागी पछि माटोको संरचना कमजोर हुन्छ, जलस्रोतमा माटोको प्रदूषण बढ्न सक्छ, जसले पानीको गुणस्तर घटाउँछ र पानीमा प्रदूषण निम्त्याउँछ । उत्पन्न हुने धुँवाले श्वासप्रश्वास समस्या देखिन्छन् । विशेष गरी वृद्ध, बालबालिका र अस्वस्थ कमजोर व्यक्तिहरूमा श्वास प्रश्वासको गडबडी, हृदय रोगको जोखिम बढाउँछ । तापमान र कम आद्र्रताले वातावरण प्रतिकुल बन्छ । दीर्घकालीन मौसम परिवर्तन, वर्षा कम हुने र सुख्खा मौसमको समस्या निम्त्याउँछ । यी सबै आधारमा आगलागीले वातावरणसँगै मानव र पशुपक्षीको जीवनमा दीर्घकालीन नकरात्मक असर पु¥याउँछ ।
वातावरणका महत्वपूर्ण पक्षहरु जमिन, जंगल, जल र जनावर सबैका लागि वन जंगलमा हुने आगलागीे घातक छ । भविष्यलाई समेत प्रभाव पार्ने गरी वन तथा जंगली क्षेत्रमा आगो लगाउनु मुुर्खता मात्र होइन जघन्य अपराध हो । एक जिम्मेवार नागरिकले यस किसिमको अपराध हुनबाट बेलैमा सचेत हुन जरुरी छ । यस प्रकारका कृयाकलापमा संलग्न हुने जो कोहीको पहिचान गरी कानुनमा व्यवस्था भए बमोजिम कारबाही हुनु पर्छ ।