बेथानचोक
बेथानचोक १ साविका च्याम्राङ्गबेसीका धेरै कृषकहरुका बारीमा केही वर्ष अघि सम्म व्यवसायीक रुपमा उखुखेति गरिन्थ्यो । उखुखेतिका लागि हावापानी तथा माटो उपयुक्त रहे पनि उखुपेल्ने र सखर बनाउने काम झन्झटिलो भएपछि उनीहरु उक्त खेतिबाट विस्थापित बन्दै गए ।
‘उखु त कोलमा पनि पेलियो दिन भर पेल्दा ७ धार्नी सखर बनाउन धौ–धौ पर्थो । घरायसी उपयोगका लागि मात्र रहरको बालीको रुपमा उखु खेति गरिन्थ्यो । पछि गोरुको प्रयोग गरी उखु पेल्ने मेसिन आयो । कोलभन्दा धेरै सजिलो भए पनि गाउँमा गोरु पाउन कठिन मेसिन विग्रने समस्या थियो । अहिले त गाउँमा विजुलीबाट चल्ने उखुपेल्ने मेसिन आए सँगै धेरै सहज भएको छ ।’ बेथानचोक १ ताङ्ग्रेमराङका पटन प्रसाद घिमिरेले भने । यतिखेर उक्त गाउँका कृषकहरु उखुपेल्न र सखर बनाउन व्यस्त छन् ।
उखुखेतिको लागि उपयुक्त हावापानी तथा कृषकको आयस्तर बढाउन सघाउ पुग्ने भन्दै बेथानचोक गाउँपालिकाले कृषकहरुका लागि तालिम संचालन गरी विद्युतबाट चल्ने मेसिन हस्तान्तरण गरेको छ । उक्त मेसिनबाट १ घण्टा समयमा पेलेको उखुबाट २० केजी सम्म सखर भएको कृषक तुलसी तिमल्सिनाले बताए ।
पालिकाले कृषकहरुका लागि पहिलो चरणमा उद्यम सम्बन्धी तालिम प्रदान गरेको थियो । दोस्रो चरणमा उखुखेति सम्बन्धी तालिम दिए पश्चात उखुपेल्ने मेसिन हस्तान्तरण गरिएको बेथानचोक गाउँपालिकाका प्रवक्ता समेत रहेका वडा नं १ का वडाअध्यक्ष मधुसुधन तिमल्सिनाले बताए । ‘समूह निर्माण गरी तालिम संचालन पश्चात ८० प्रतिशत अनुदानमा मेसिन हस्तान्तरण गरिएको छ । उखु खेति विस्तारका लागि अनुदानमा उखुको बिउ उपलब्ध गराउने कार्यक्रम पनि रहेको छ’ उनले थपे । पालिकाको वडा नं १ र ३ मा २ वटा उखुपेल्ने मेसिन अनुदानमा उपलब्ध गराइएको उनले जानकारी दिए ।
यस अघि व्यवसायीक उखुखेति गरिँदै आएको वडा नं १ को सुकुम, झिङ्गे ताङ्ग्रेमराङ लगायतका कृषकहरुले उखुपेल्ने झन्झट भएको भन्दै खेतिबाट विस्तापित भएका थिए । विजुलीबाट चल्ने मेसिन उपलब्ध भएसँगै उक्त वडाका कृषकहरु उखुपेल्न सहज हुने भएपछि पुनः उखुखेति गर्न तम्सिएका हुन् ।
केही कृषकहरुले अहिले पनि स्थानीय जातको उखु खेतिबाट आम्दानी गरिरहेको बताउँछन् । भिराला पाखाबारीमा लगाइने र न्यून लागत भए पनि अम्दानी राम्रै हुने गरेको कृषकहरुको भनाई छ । किलोको ५ सयमा घरबाटै बिक्रिहुने गरेको उनीहरु बताउँछन् । औषधीय गुणभएको कारण स्थानीय जातको उखुको सख्खरको माग उच्च रहेको कृषकहरुले बताए ।