अहिले के मा ब्यस्त हुनुहुन्छ ?
बनेपामा रहेको साउने पँधेरी नामक सहकारी संस्थामा आबद्धभई प्रबन्धकको रुपमा ब्यस्त रहेको छु ।
साउने पँधेरी सहकारी संस्थाको उदेश्य बताइदिनुहोस् न ?
आर्थीक,सामाजिक समृद्धिका लागि अग्रणी साउने पँधेरी सहकारी संस्थाको मुख्य उदेश्य भनेको साना उद्यमीहरुको आयश्रोत बृद्धिका साथै लगानीकर्ताहरुको लगानी सुरक्षा हाम्रो मुख्य उदेश्य रहेको छ । साना साना छरिएर रहेको रकम जम्मा गर्नु र सोही रकम आबश्यक परेका साना तथा मझौला उद्योग र उद्योगीहरुको आयश्रोतमा सहजिकरण गर्नु को साथै संस्थाको सदस्यहरुको बचतको सुरक्षा गर्नु हाम्रो उदेश्य हो ।
सहकारीको बारेमा थोरै बताइदिनुहुन्छ कि ?
नेपालको आर्थिक विकासका लागि निजी, सहकारी र सार्वजनिक गरी तीनखम्बे नीतिको कल्पना संविधानमा छ । सबैका लागि एक र एकका लागि सबै भन्ने सहकारीको अवधारणा छ । सहकारीका सात सिद्धान्तले सहकार्य सहित सामूहिकतामा जोड दिएको पाइन्छ । हाम्रो सहकारीको मुख्य उदेश्य भनेको यहि को । सामूहिकताको अवधारणा, सहकार्यको बलियो समूह एवं समृद्धिका लागि दूरदृष्टिको सोच र सुशासनका क्रियाकलापलाई सहकारीको सुखद पक्षका रूपमा लिइन्छ । समूहको बलबाट बहुक्षेत्रमा बहुव्यवसायका लागि सदस्यको सक्रिय रहनु सहकारीको कर्म हो । हामी पनि यसै अनुसार अगाडी बढेका छौं ।
सहकारीले गर्ने मुख्य काम चाहीँ के हो त ?
आर्थिक विकाशमा सहकारीले निर्वाह गरेको भूमिका महत्वपूर्ण छ । हाम्रो जस्तै धेरै सहकारीहरु साना उद्यमीहरुको विकासमै लागि परेका छन् । सहकारी सदस्यहरूबीच बचत र लगानी गर्ने अवसर प्राप्त भएको छ । सहकारीले गर्दा रोजगारीको अवसर बनेको छ । सँग सगैं उद्यमशीलताको विकाश गर्न मद्दत पुगेको छ । साना लगानी र बचत गर्न प्रोत्साहन भएको छ, आर्थिक क्रियाकलापमा मद्दत पुगेको ।
पछिल्लो समय सहकारीहरुको नकारात्मक समाचारहरु आइरहेका छन् तपाइको धारणा के छ ?
पछिल्लो समय नकारात्मक रुपमा सहकारीहरुको समाचारहरु आइरहेका छन् । जसले नराम्रो काम गर्छन् उनिहरुको बारेमा नराम्रो विषय बाहिरिनु स्वभाबिक हो । नेपाल सरकारको नियम कानुनमा रहेर संचालन गरेका सहकारीहरु कहिल्यै पनि नराम्रो छैनन् र हुनुहुँदैन । राम्रो मनसाय भएको समूह र स्वच्छ सहकार्य एवं सहभागितामूलक व्यवस्थापनको माहोल बनाउन सके सहकारी राज्यको दरिलो खम्बा हुन्छ । यहि खम्बा बनाउन हामी लागेका छौं ।
स्थानीय तहभित्र रहेका सहकारीको नियमन र अनुगमन गर्ने जिम्मा स्थानीय तहको हो । संघिय नेपाल सँगै सहकारीहरु स्थानिय निकायका बाधँिनु पर्ने हो । एक भन्दा बढी स्थानीय तहमा कार्यक्षेत्र भएका सहकारीको जिम्मेवारी प्रदेशको रह्यो र एक प्रदेश भन्दा बढीमा कार्यक्षेत्रको जिम्मेवारी संघको तोकियो । सबै तहका सरकारले पूर्णरूपमा सहकारीलाई प्राथमिकता दिन सकेनन् र गलत मनसाय भएका केही सहकारी सदस्य नकारात्मक सोचमा लागे । प्रदेश र स्थानीय तहका सरकारले सहकारीलाई नियमन र अनुगमन गर्ने नीति, संरचना र जनशक्तिको व्यवस्थापन समयमै गर्न सकेनन् । केही सहकारी लगामबिनाका घोडा भए । सहकारीमा तुरुन्तै सदस्य हुन पाइने र अन्य सदस्यसरह सहकारीका क्रियाकलापमा सहभागी हुने गलत अवधारणाले पनि सहकारीमा समस्या आयो । यसलाई नियमन गर्न सकिन्छ गर्नुपर्छ ।
अहिले साउने पँधेरी सहकारीमा बचतकर्ता कति छन् ?
हाम्रो संस्था २०७३ सालमा स्थापना भएको संस्था हो । तर यसको कार्य संचालन चाँही २०७८ सालबाट बनेपा नगरपालिकामा मुख्य कार्यालय रहेर काम अगाडी रहेको छ । अहिले हाम्रो बचतकर्ता करिब १५ सय रहेका छन् । हाम्रो संस्थाको शेयर पुँजी ६० लाख साथै कुल पुँजी ४ करोड रहेको छ ।
प्रबन्धकको बाट नजरबाट नियाल्दा सहकारीको समस्या समाधान कसरी गर्न सकिएला ?
सहकारीलाई समस्या नभएका सहकारी, जोखिम हुन सक्ने सहकारी र समस्याग्रस्त सहकारीका रूपमा वर्गीकरण गरी तीनै प्रकारका सहकारीका लागि फरक फरक रणनीतिसहित अघि बढ्नुपर्छ । सहकारीका चुनौती सामना गर्न र समस्या समाधान गर्न नियमन निकाय, सञ्चालक र स्वयं सेयर सदस्यको सक्रिय भूमिकाको खाँचो देखिन्छ । सबैले चासो दिनुपर्छ । चुनौती सामना गर्न दीर्घकालीन सोचसहित कार्ययोजना सहितको अग्रसरता चाहिएको छ । सही मार्गमा रहेका सहकारीको प्रोत्साहनसहित संरक्षण गर्ने र जोखिमबाट जोगाउन छुट्टै रणनीतिसहित अघि बढ्नुपर्ने हुन्छ । ती सहकारीको सिकाइ अरू सहकारीमा पनि जोड्नुपर्छ । समस्या नभएका सहकारीलाई नकारात्मक हल्लाले असर नपर्ने गरी सही सूचना सेयर सदस्यसम्म पु¥याउनु आवश्यक छ । जोखिम हुन सक्ने सहकारीको तथ्यसहितको सूचना संकलन गर्ने र आउन सक्ने जोखिमबारे सेयर सदस्यबीच खुला छलफल गर्ने र सहकारीको प्रतिष्ठाका लागि तरलताको व्यवस्थापन, ऋण असुलीका कार्ययोजना र सेयर सदस्यका लागि सही सूचना प्रवाह गरी जोखिम हुन नदिन वा समस्या न्यूनीकरण गर्न जोड दिन आवश्यक छ । नियमन निकायले जोखिम आकलन गरी सुधार गर्न मद्दत गर्नुपर्छ ।
के गरियो भने अहिले देखिएका सहकारीको समस्या समाधान होला त ?
सहकारीमा आउन सक्ने जोखिम न्यूनीकरण गर्न सचेतनाका अभियान चलाउने र पेसागत मर्यादामा ध्यान दिन नैतिक दबाब सिर्जना गर्न जागरण ल्याउन जरुरी छ । नियमन निकायले उपयुक्त नीति, संरचना र जनशक्तिको व्यवस्था गरी सहकारीलाई प्रभावकारी बनाउन जरुरी छ । सहकारीको समस्या आफैमा छ भन्ने धारणा बन्नुपर्छ । विधि पालना गर्ने, सञ्चालक सेयर धनी र व्यवस्थापकले जोखिमविरुद्ध रणनीतिसहित अगाडि बढ्ने, क्रियाकलापको पारदर्शिता, जिम्मेवारी बोध गर्ने, सेयर सदस्यप्रति जवाफदेही हुने र उत्तरदायीपूर्ण नेतृत्व चयन गर्ने जस्ता सुशासनका विधि पालनामा लाग्नैपर्छ । मेरो हैन हाम्रो भन्ने मान्यताका आधारमा कार्यकुशलता बढाउने, राजनीति भन्दा व्यवसायिकतामा रमाउने, मितव्ययी व्यवहार, सदाचारिताको आचरण र नैतिक बलमा जोड दिन सके सहकारीमा राम्रो सहकार्यता मौलाउँछ र विकृति हराउँदै जान्छ । राम्रो मनसाय भएको समूह र स्वच्छ सहकार्यता एवं सहभागितामूलक व्यवस्थापनको माहोल बनाउन सके सहकारी राज्यको दरिलो खम्बा हुन्छ ।
अन्तमा केही छ की ?
मेरो केही भनाई राख्ने अवसर दिनुभएकोमा हाम्रो इन्द्रावती साप्ताहिक र साझा पत्रिका डटकमलाई बिशेष धन्यवाद ब्यक्त गर्दछु । सहकारी भित्र मेरो हैन हाम्रो भन्ने मान्यताका आधारमा कार्यकुशलता बढाउने, राजनीति भन्दा व्यवसायिकतामा रमाउने, मितव्ययी व्यवहार, सदाचारिताको आचरण र नैतिक बलमा जोड दिन सके सहकारीमा राम्रो सहकार्यता मौलाउँछ र विकृति हराउँदै जान्छ भन्न चाहान्छु ।