काभ्रे
नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाले जिल्लाका विभिन्न पालिकाभित्रका बाढीपहिरो पिडित परिवारलाई लक्षित गरी खानेपानी तथा सरसफाईसँगै नगद राहत सहयोग उपलब्ध गराएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको निर्देशन अनुसार जिम्मेवारी पाएको काभ्रे शाखाले पनौती नगरपालिकाको वडा नं १२ लगायतका क्षेत्रमा तत्कालका लागि अस्थायी रुपमा खानेपानी उपलब्ध गराएको छ । पनौती नगरपालिकामा शाखाले खानेपानी व्यवस्थापनमा कुल ४० लाख र बेथानचोक गाउँपालिकाका वडा नं २ र ४ मा २४ लाखको लागतमा अस्थायी रुपमा खानेपानी व्यवस्थापन गरेको हो ।
त्यसैगरी वडा विपद् व्यवस्थापन समिति मार्फत सिफारिस भएका बाढी पहिरो पिडितहरुका लागि शाखाले नगद राहत सहयोग उपलब्ध गराएको छ । शाखाले पनौती नगरपालिका भित्रका ९ सय ५८ घर धुरीलाई प्रतिघरधुरी १५ हजारका दरले १ करोड ४३ लाख ७० हजार रुपैंया वितरण गरेको छ । बेथानचोक गाउँपालिकाका वडा नं २ र ४ का २ सय ४१ घरपरिवारका लागि १५ हजारका दरले कुल ३६ लाख १५ हजार वितरण गरेको छ ।
शाखाले बाढीपहिरो प्रभावित फरक क्षमता भएका ७३ जनालाई पनि १५ हजारको दरले १० लाख ९५ हजार रकम वितरण गरेको छ । बाढी पहिरो प्रतिकार्य काभ्रेका संयोजक तथा काभ्रे शाखाका निवर्तमान अध्यक्ष रघुनाथ हुमागाईका अनुसार खानेपानी व्यवस्थापन तथा नगद सहयोग वितरणका लागि रेडक्रस सम्बद्ध विभिन्न दातृनिकायले सहयोग उपलब्ध गराएका थिए ।
त्यसैगरी संयोजक हुमागाईका अनुसार रोशी गाउँपालिकामा २ हजार ५ सय ४२ बेथानचोक गाउँपालिमा २ हजार ५ सय र पनौतीमा २ हजार ५ सय सुत्केरी तथा गर्भवती महिलाहरुका लागि ‘डिग्निटीकिट’ वितरण भइरहेको छ । त्यसैगरी रोशी गाउँपालिकाका सिमान्तकृत,विपन्न गर्भवती बाढी प्रभावितहरु लागि १५ हजारका दरले नगद रकम वितरण गरिएको छ । संयुक्त राष्ट्र जनसंख्या कोषको सहयोगमा उपलब्ध उक्त सामग्री वितरण गरिएको हुमागाईले जानकारी दिए ।