बगैंचाको सपना
एकादेशमा एउटा गाउँ थियो । गाउँमा एकपटक केही मान्छेहरू बसेर एउटा सुन्दर फलफुलको बगैँचा बनाउने अठोट गरे । त्यो बगैंचामा थरिथरिका फूलहरू लगाउँने, फलहरू लगाउने, ती फूलहरूको सुगन्ध गाउँभरी फैलियोस्, ती फलको स्वाद सबैले चाख्न पाउन् । माहुरी, पुतलीहरू घुमुन्, सिंगो गाउँ नै गुल्जार होस् भन्ने सबैको ध्येय थियो । आफू मध्येबाट उनीहरूले एकजना इमान्दार र सक्षम ठानेको साथीलाई त्यो बगैंचाको रेखदेखको जिम्मा लगाए ।
भर्खरका बिरूवाहरूमा कोपिला लाग्नै लाग्दा मालीले उचित स्याहार गर्न सकेन, कोपिला बिस्तारै मुरझाउन लागे । मालीले पनि बगैँचा त मेरै हो नि भनेर भनेर कसैसंग सल्लाह नै नगरी अर्को हेरालुलाई जिम्मा लगायो । अर्को हेरालुले जरजर भैसकेको जमिनमा फेरि कुटो चलायो, पसिना बगायो । तर ऊ त्यो बगैंचाका फूलहरूको बास्ना आफ्नै घरमा मात्र आओस् भन्ने चाहान्थ्यो, फलेका फलहरू आफैंमात्र खाउँ भन्ने सोच्थ्यो। फूलहरू कसरी स्वार्थी हुन सक्थे, कोपिलै हालेनन् ।
कयौं बर्ष बगैँचा यत्तिकै जरजर भएर बसिरह्यो । जसले सुन्दर बगैंचाको सपना देखेका थिए, उनीहरूको मनमा नमीठो लागिरह्यो । कति यो बिजोग हेरीबस्ने भनेर सबैले सल्लाह गरि फेरि अर्को माली खोजे । नयाँ मालीले पनि बुझेको थियो एक्लै यति ठूलो बगैंचाको सपना साकार गर्न सकिँदैन । उसले आफूलाई सहयोग गर्ने केही साथीहरूको सहयोग लियो ।
बगैँचा फेरि गोडमेल गर्यो नयाँ नयाँ बिरूवाहरू खोजेर ल्यायो । नयाँ बिरुवाहरू लगाउँदा, हुर्कँदा, फुल्दाफल्दा सम्म कसैलाई वास्ता भएन, पसिना बगाउनेले बगाइरहे । फलहरू १/२ लटका फलहरू पाकेपछि पालैपालो सबैले खान पाउने गरि मालीले सबैलाई पुर्यायो पनि । सबैले बिस्तारै बगैँचा राम्रो बन्यो भन्न लागे । तर अचानक पुरानो मालीलाई यो त मेरो बगैँचा पो हो, किन अरूलाई रजाँई गर्न दिनु भन्ने लाग्यो । आफूले नि चाखेको फलको अब त रूखमै झटारो हान्न भनेर लाठी बोकेर खडा छ ।
खै कसरी जोगाउलान् बगैँचा गाउँलेले ।
माली जोसुकै होस् मतलब भएन तर गाउँले सबैले सधैं पालैपालो फल खान पाउँन्, झैझगडा गरेर आफ्ना मध्येकै कोहि रूखै काट्न बन्चरो बोकेर निस्किए भने बगैँचा सिध्याउनुपर्छ भनेर दाउ हेर्नेहरूको त भिडले साथ दिनेछ, अनि सकिनेछ सबथोक ।। तर त्यस्तो कैलै नहोस्, गाउँ सुन्दर होस्, बगैँचा राम्रो बनोस् ।।