बेथानचोक । गत असोज दोस्रो साताको पहिरोले आफ्नै एग्रोफर्म प्रभावित बनी घाटा व्यहोरे पनि एक व्यवसायीले खानेपानीको समस्या भोगिरहेका स्थानीय बाढी पहिरो पिडितलाई खानेपानी पाइप सहयोग गरेका छन् ।
बेथानचोक गाउँपालिका वडा नं ४ संजेल गाउँमा संचालित इलम एग्रोफर्म संचालक सुवास अमात्यले उक्त वडाका विभिन्न टोलमा खानेपानीका लागि पाइप उपलब्ध गराएका हुन् ।
बेथानचोक वडा नं ४ का विभिन्न टोलमा संचालित खानेपानी आयोजना बाढी पहिरोले ध्वस्त भइ खानेपानीको समस्या भएपछि अमात्यले पाइप उपलब्ध गराएको बताए ।‘विपतका समयमा सहयोग गर्नु हाम्रो कर्तव्य हो । आवश्यकता अनुसार हामी अझै सहयोग गर्न तयार छौं ।’ उनले बताए ।
उक्त सामग्री उपलब्ध गराउनका लागि पनौतीका युवा नेता शिब बञ्जारा, आयुष गौरव सुरेन्द्र बञ्जारा लगायतले सहजिकरण गरेका थिए ।
मंगलबार बेथानचोक ४ क्लबघरमा आयोजित कार्यक्रममा विभिन्न साइजका कुल २ हजार ६ सय मिटर पाइप एग्रो संचालक अमात्यले बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारी मार्फत वडा नं ४ का वडा अध्यक्ष कृष्ण बहादुर पाख्रिनलाई प्रदान गरिएको थियो ।
वडामा खानेपानीको अत्यन्तै समस्या भएका टोलहरुको प्रथमिकताको आधारमा पाइप वितरण गरिने वडा अध्यक्ष पाख्रिनले बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य शिव प्रसाद हुमागाई, नेपाल प्रेस युनियन केन्द्रीय सदस्य नारायण सापकोटा, बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारी, बेथानचोक गाउँपलिका निवर्तमान अध्यक्ष प्रेम बहादुर तिमल्सिना, युवा नेता मच्छिन्द्र लामा लगायतको उपस्थिति रहेको थियो ।