पनौती
पनौती नगरपालिका लगाएत धुलिखेल तथा बनेपा नगरपालिकाको खानेपानीको मुख्य मुहान रोशी क्षेत्र हो । यी क्षेत्रलाई सधै स्वच्छ पानी खुवाउँदै आएको रोशी क्षेत्रका बासिन्दा विपद्का कारण यतिखेर आफैं स्वच्छ पानीको अभावमा छन् ।
रोशी क्षेत्रका बासिन्दालाई निर्मलीकरण गरिएको पानी खुवाउने उद्देश्यका साथ एक युवा व्यवसायीले पानी निर्मलीकरण गर्ने औषधी उपलब्ध गराएका छन् ।
भकारी मार्ट तथा भकारी फुड प्रा.लिका सञ्चालक समेत रहेका युवा व्यवसायी सुरेन्द्र बञ्जाराले बिपद्मा परेकाहरुलाई स्वच्छ पानी खुवाउने उद्देश्यका साथ ‘रेडउड इन्टरनेशनल प्रा.लि’बाट २० हजार रुपैंया बराबरको निर्मलीकरण चक्की व्यक्तिगत रुपमा खरिद गरी यो अभियानको शुरुवात् गरेका हुन् ।
पनौती नगरपालिका वडा नं १२ का लागि ‘अक्वाट्याव ३३ एमजी’ ५ हजार पिस प्रदान गर्दै सबैलाई पानी खुवाउने क्षेत्रका बासिन्दा नै संकटमा परेका कारण यस अभियानमा सबैले साथ दिनुपर्ने बताए ।
बाढी तथा पहिरोका कारण रोशी क्षेत्रका बासिन्दा स्वच्छ खानेपानीको अभाव झेली रहेका छन् । बाढी पहिरोले क्षतिग्रस्त स्थानहरुमा मुहानबाट आउने पानी पनि दुषित हुन सक्ने भएका कारण पानी निर्मलीकरण गरेर मात्र खानुपर्ने विज्ञहरुको भनाई छ । उक्त अक्वाट्याव प्रयोगविधिका बारेमा बुझ्न यहाँ क्लिक गर्नुहोस ।
त्यसैगरी बञ्जाराले उपलब्ध गराएको अक्वाट्याब स्थानीय युवा नेता राजेन्द्र के.सीले वडा नं १२ का वडा अध्यक्ष जयराम के.सी मार्फत रोशी स्वास्थ्यचौकी प्रमुख साजन के.सीलाई उपलब्ध गराइएको बुझिएको छ । उक्त अक्वा ट्याबलाई स्वास्थ्यकर्मीहरु मार्फत प्रभावितहरुलाई वितरण गरिनेछ ।