मनसुनको अन्त्य हुनै लाग्दा वितण्डा मच्चाउने गरी भएको अविरल वर्षाले देशका विभिन्न स्थानमा अकल्पनीय क्षति भएको छ । बाढी पहिरोका कारण जनधनको क्षति भएको छ । जुन क्षतिको मरिमाण स्पष्ट विवरण सार्वजानिक हुन अझै केही दिन लाग्ने पक्का छ ।
राजधानी जोड्ने राष्ट्रिय राजमार्गहरु वर्षाका कारण अवरुद्ध बन्न पुगेका छन् । राजमार्गहरुमा गएको पहिरो तथा बाढीले बगाएको सडक खण्डका कारण सडक अवरुद्ध त भएका छन् नै सवारी साधनमा पुगेको क्षतिले धेरैले मृत्युवरण गरेको खबर पनि सार्वजानिक भइरहेका छन् ।भौगोलिक विकटतापूर्ण पहाडी जिल्लाका ग्रामीणवस्तीका बासिन्दा अहिले सबैभन्दा धेरै संकटमा छन् । विद्युत सेवा अवरुद्ध भएसँगै ग्रामीणक्षेत्र संचार विहिन बन्न पुगेका छन् । ती गाउँहरुसँग अन्य गाउँहरुको सम्बन्ध टुटेको अवस्था छ भने क्षतिको वास्तविक विवरण अझै पनि सम्बन्धित निकाय सम्म पुग्न सकेको अवस्था छैन ।
पिडितमा छिट्टै उद्धार राहत पुनस्थापनाको अभिलाषा हुन्छ । एक नागरिकले तीन तहका सरकारहरुबाट यस प्रकारको अपेक्षा राख्नु अनुपयुक्त पनि होइन । तर विपदसँगै दुर बनेका शहरी क्षेत्र निकटकै ग्रामीणवस्तीका बासिन्दहरुले यस प्रकारको अपेक्षा पुरा नहुँदा निराशाको अवस्था सिर्जना भएको पाइएको छ । पुरिएर बेपत्ता भएकाहरु धेरैको अझै उद्धार हुन सकेको छैन । घरबास गुमाएकाहरु तत्कालका लागि विद्यालय,स्थानीय सामुदायिक भवनहरु, व्यवसायीक प्रयोजनका लागि खुलेका होटल रिर्सोटहरु आश्रय स्थलका रुपमा प्रयोग भएका छन् । उनीहरुको अस्थायी बासस्थान,राहत सहयोग तथा पुनस्थापना कार्यमा विशेष ध्यान दिनु जरुरी छ ।
जोखिम न्यूनिकरण तथा विपद व्यवस्थापनका विषयमा विभिन्न कार्यक्रमहरु संचालन भएका पाइन्छन् । तर आइपर्ने ठूला विपत्तिका समयमा उद्धार राहतको कार्यमा ढिलाई हुने गरेको देखिन्छ । भावी दिनमा पुर्वतयारीको प्रभावकारिता र गुणस्तरीयताका विषयमा विवेचना सहित हाललाई भने पिडितको पिडा कम गर्न सम्बन्धित निकायले जिम्मेवारी बोध सहित कार्यगर्नु जरुरी देखिन्छ ।