काभ्रे
शक्तिशालीले कमजोरलाई कब्जा गर्नेमात्र होइन आहारा बनाउने पनि प्राकृतिक नियम हो । तर कहिलेकाहीँ यस्ता घटना पनि हुने गर्छन जुन प्रकृतिक नियम विपरित छ । मकवानपुरमा एउटा त्यस्तै घटना घटेको छ । जहाँको एक भैंसी गोठमा भेटिएको मृत बाघलाई भैंसीले मारेको अनुमान गरिएको छ ।
बिहीवार बिहान जिल्लाको मनहरी गाउँपालिका–६ प्रतापपुर स्थित बल बहादुर राईको गोठमा बाघमृत अवस्थामा भेटिएको थियो ।
गोठमा रहेको भैँसीलाई आक्रमण गर्दा एक वटा भैँसी घाइते भएको र सोही गोठमा बाघ मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरी टोली र पर्सा वन्यजन्तु आरक्षण सुरक्षार्थ खटिएको मध्यवर्ती क्षेत्र पदमपोखरी सेक्टर लामीटार ब्यारेकबाट नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो ।
टोलीले घटनास्थलको प्रारम्भिक अनुसन्धानबाट बाघ बुढो रहेकाले भैँसीले हान्दा मरेको हुन सक्ने खुल्न आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।