काभ्रे
काभ्रे तथा उपत्यकामा रक्त अभाव हुँदा तत्काल रगत आवश्यक परेका बिरामीहरु समस्यामा परेका छन् ।
नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाद्वारा संचालित ब्लड बैंकमा मात्र होइन राजधानीका तीनै जिल्लाका रक्त संचार केन्द्र लगायत केन्द्रीय रक्त संचार केन्द्र सोल्टीमोडमा पनि रगत अभाव रहेको रेडक्रस जिल्ला सभापति रघुनाथ हुमागाईले जानकारी दिए ।
उपत्यकाबाट रगतको माग धेरै आउन थालेको छ । दैनिक दर्जनौं कल फोन आउँछ । काभ्रेका अस्पतालमा भएका बिरामीहरुका लागि उत्तिकै माग छ । तर रक्त संकलनका कार्य न्यून हँुदा रगत उपलब्ध गराउनै समस्या रहेको उनले बताए ।
आपत्कालिन अवस्थाका बिरामीहरुलाई रगत आबश्यक पर्दा चिनजानका व्यक्तिहरुलाई रगत दिन अनुरोध सहित फोन गर्दा पनि रक्तदानका लागि तयार हुनुहुन्छ । त्यस्ता बिरामीहरुको सन्दर्भमा यो विधिबाट पनि उपलब्ध गराएका छौ । तर रक्त संचार केन्द्रबाट अभावका कारण माग बमोजिम उपलब्ध गराउन नसकिएको हुमागाईको भनाई छ । नियमित रक्तदानका कार्यक्रम कम हुँदा रक्त संचार केन्द्रहरुमा रगत अभाव भएको उनको भनाई छ ।
विभिन्न रोगका बिरामीहरुसँगै वर्षातको मौसममा दुर्घटनाजन्य बिरामीहरु पनि उत्तिकै हुने भएका कारण यो समयमा रगतको माग बढि नै हुने हुमागाईको अनुभव छ । ‘रक्त संकलन गर्न सक्रिय संस्थाहरुको खाताबन्दीको समय तथा मौसमका कारण रक्तसंकलनका कार्यक्रमहरु सिमित आयोजना भएका छन् । रक्तदान गर्ने उमेरका युवा युवाती विदेशिएका छन् जसका कारण कार्यक्रम आयोजना हुँदा पनि सोचेजस्तो रगत संकलन हुने गरेको छैन ।’ हुमागाई बताउँछन् ।
काभ्रेका २ अस्पतालहरु शिर मेमोरियल बनेपा तथा धुलिखेल अस्पतालमा काभ्रे लगायतका सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, दोलखा लगायत पूर्वी जिल्लाका बिरामीहरुको चाप रहन्छ । त्यसैगरी दुई विपी तथा अरनिको राजमार्गका दुर्घटनाजन्य बिरामीहरुको लागि समेत माग हुँदा काभ्रे रक्त संचार केन्द्रबाट ४० प्रतिशत रगत जिल्ला मै खपत हुने गरेको छ । त्यसैगरी संकलित रगतको ६० प्रतिशत बढि उपत्यकाका अस्पतालहरुमा पठाउने गरेको बनेपा रक्तसंचारले जनाएको छ ।
रगतको माग धेरै भएको तर संकलन नहुँदा बिरामीहरु समस्यामा छन् । बढ्दो दुर्घटनाले झनै माग बढ्ने गरेको छ । उत्तम मानवीय सेवाको कर्म रक्तदान कार्यक्रम संचालन गरि रगत अभावको समस्या समाधान गर्न आयोजक संस्थाहरुलाई आव्हान तथा रक्तदाताहरुलाई आयोजना गरिएको कार्यक्रममा अथवा रक्तसंचार केन्द्र बनेपा कार्यालयमा उपस्थित भएर रक्तदान गरिदिनुहुन रेडक्रस शाखा सभापति हुमागाईले अनुरोध गरेका छन् ।