काभ्रे
४२ औं विपि स्मृति दिवस तथा गुरुपूर्णिमाको अवसरमा काभ्रे काँग्रेसका नेताहरु केन्द्रीय सदस्य शिब हुमागाईको निवासमा जम्मा भए । जिल्लामा काँग्रेस संगठन विस्तारमा महत्वपूर्ण भूमिका खेलेका राजनीतिक गुरुका रुपमा रहेका ती नेताहरुले काभ्रेकाग्रेसलाई एक ढिक्का बनाउने प्रण गरे ।
गुटका कारण पार्टी भित्रको विवाद देखि पटक पटक निर्वाचनमा हार व्यहोर्दै आएको काभ्रे काँग्रेस अन्ततः दिगो रुपमा एक हुने मार्गमा अघि बढेको चर्चा चले सँगै उक्त भेटघाटलाई महत्वका साथ हेरिएको छ ।
गत असारमा बनेपामा नेविसंघले आयोजना गरेको एक कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य शिब प्रसाद हुमागाईले समग्र कार्यकर्ताहरुबाट पार्टी एकीकरण हुनुुपर्ने विषयमा दवाव आएको खुलासा गरेका थिए । निर्वाचनको विषयलाई लिएर जिल्लाका केही नेताहरुलाई कारबाहीको सिफारिस भएको र त्यसको औचित्य सकिएको बताउँदै कारबाही गर्ने निर्णय बदर गर्नुपर्ने विचार व्यक्त गरेका थिए ।
पार्टी कार्यकर्ताको संख्या प्रशस्त भएर पनि काभ्रे काँग्रेसले धेरै जसो निर्वाचनको समयमा अकल्पनीय हार व्यहोर्ने गरेको छ । निर्वाचनकै विषयलाई लिएर निर्वाचन पछि नेताहरुमा उत्पन्न हुने मनमुटाव कारबाहीको अवस्था सम्म पुग्ने र त्यसको प्रभाव अर्को निर्वाचन सम्म पुग्ने गरेको नजिरका बिच हुमागाईले कारबाही आममाफी र पार्टी एकीकरणको प्रस्ताव पछि काभ्रे काँग्रेसका नेता कार्यकर्तामा खुशी छाएको छ ।
संघियता कार्यान्वयन पछिका दुई निर्वाचनमा जिल्लाका केन्द्रीय स्तरका दुई नेताले हार व्यहोरे । निर्वाचन अघिको कार्यकर्ताको संख्या तथा सक्रियताका आधारमा जित सुनिश्चित हुने आँकलन गरेका नेता कार्यकर्ताले अप्रत्यासित रुपमा हार व्यहोर्ने गरेका छन् । ‘काँग्रेसका कार्यकर्ताको संख्याको आधारमा कुनै हालतमा हार हुने अवस्था नै रहन्न तर निर्वाचनमा पराजय नै भोग्नुपर्दा यसलाई गुट उपगुुटकै प्रभाव हो भन्ने प्रष्ट हुन्छ । अब पनि नेताहरु गुट उपगुट नै चलाएर हिँडने हो भने पुनः आगामी निर्वाचनमा हार व्यहोर्नु पर्ने पक्का छ ।
नेताहरुमा मेलको विषय बाहिरिएको छ यो स्वागत योग्य छ ।’ एक काँग्रेस कार्यकर्ताले भने । गुट उपगुटको प्रभाव जिल्लादेखि स्थानीय तह वडा स्तर तथा सबै भातृ संगठनमा परेकै कारण निर्वाचनमा सोचे जस्तो उपलब्धी हात नपरेको पनि उनले गुनाशो गरे ।
फरक धारका दलहरुसँगको गठबन्धन सहितका गत संसदीय निर्वाचनका उम्मेदवार शिब प्रसाद हुमागाईले फराकिलो मतान्तरले हार व्यहोर्नु परेपछि निर्वाचनकै विषयलाई लिएर नेपाली काँग्रेस जिल्ला समितिबाट जिल्लाका केही नेताहरुलाई कारबाहीका लागि केन्द्रीय समिति समक्ष सिफारिस गरेको थियो । सिफारिस गरेको २ वर्ष बित्नै लाग्दा ती नेताहरुलाई केन्द्रीय समितिबाट कारबाहीको कुनै प्रकृया नै अघि नबढइनु र कार्यकर्ताहरुबाट जिल्लामा काँग्रेसको हितको लागि एकिकरण अपरिहार्य भएको भन्दै दवाव सिर्जना भएपछि यतिखेर काभ्रे काग्रेस एकढिक्का हुने क्रममा छ ।
नेविसंघको आयोजनामा भएको बनेपाको कार्यक्रममा हुमागाईको एकीकरण आव्हानसँगै नेताहरुको भेटघाट बाक्लिएको छ । नेताहरुको भेटघाट कार्यक्रमको तस्विर बाहिरिए सँगै काभ्रेको राजनीति तातेको छ । पार्टी एकिकरणको विषयले कार्यकर्तामा खुशी छाएको देखिन्छ । नेताहरुको कारबाही फुक्का तथा पार्टी एकीकरणको विषयमा पटक–पटक छलफल भएको स्रोत बताउँछ ।
विभिन्न स्थानमा भेटघाट भएको सबै नेताहरु गुट अन्त्यको पक्षमा रहेको स्रोतको दावी छ । गुट उपगुट समाप्त पार्दै काभ्रे काँग्रेसलाई एकढिक्का बनाउने कार्यमा केन्द्रीय सदस्य हुमागाईले नै नेतृत्व लिएका छन् भने अर्का २ केन्द्रीय सदस्य मधु आचार्य तथा गणेशलामा तथा महेश खरेल लगायतका नेता त्यसको पक्षमा रहेको बुझिएको छ ।
आइतबार जिल्लामा काँग्रेस नेताहरुले भेटघाट कार्यक्रमको आयोजना गरे । भेटघाट कार्यक्रमामा तीन केन्द्रीय सदस्यहरु शिब हुमागाई, मधु आचार्य, गणेश लामा, महेश खरेल लगायतका नेताहरुको उपस्थिति रहेको थियो । उपस्थित नेताहरुले समसामयीक केन्द्रीय राजनीति, केन्द्रीय राजनीतिले जिल्ला स्तरमा पार्ने प्रभाव तथा अबसरका विषयमा छलफल भएको थियो ।
छलफल कार्यक्रममा केन्द्रीय सदस्य हुमागाईले पर्टीमा एकीकरणको महत्व उल्लेख गर्दै कुनै स्वार्थ नराखी आफ्नै नेतृत्वमा काभ्रेकाँग्रेस एक ढिक्का बनाएर छाडने उनको भनाई थियोे । ‘काभे्रकाँग्रेस बलियो छ भन्ने प्रमाण देखाउनु छ । यसको मुख्य उपाय भनेको नै एक हुनु हो अब म अभिभावकीय भूमिकामा रहेर काभ्रे काग्रेस एक ढिक्का बनाएरै छोड्छु ।’ उनले बताए ।
छलफलका क्रममा हुमागाई निवासमा जम्मा भएका नेताहरुले एक ढिक्का हुनुको विकल्प नरेहेको बताएका थिए । केन्द्रसम्म नै चर्चा हुने काभ्रे काँग्रेसको फुट तथा विवाद यो पटकको एकीकरण प्रयासले अन्त्य हुने चर्चा हुन थालेको छ । महाधिवेशन वा निर्वाचनको समयमा समेत गुटको लक्षण सम्म नदेखिने गरि कार्यगत एकीकरणको खाँचो रहेको काँग्रेसका शुभचिन्तकहरु बताउन थालेका छन् ।