काठमाडौँ
निरन्तर ४ पटक विश्वासको मत पाएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाँचौ पटक भने विश्वासको मत गुमाए ।
उनले विश्वासको मत नपाएपछि राष्ट्रपति रामचन्द्र पौडेलबाट नयाँ सरकार गठनका लागि आह्वान भएलगत्तै नयाँ प्रधानमन्त्रीका लागि दाबी पेस गर्न नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले)सहितका दलले तयारी गरेका छन् ।
विश्वासको मत लिने आजको मतदानमा कुल २ सय ५८ सदस्यले भाग लिएका थिए । मतदानमा विश्वसको पक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसदले मतदान गरेका थिए । पक्षमा ६३ मत परेको थियो । विपक्षमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनता समाजवादी पार्टीलगायत दलले मतदान गरेका थिए । विश्वासको विपक्षमा कुल १ सय ९४ मत खसेको थियो । मतदानमा एक सदस्य तटस्थ रहेका थिए ।