काभ्रे
नमोबुद्ध नगरपालिका–७ भकुण्डेमा सामुदायिक विपद प्रतिकार्य सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ ।
रोशी गाउँपालिकाको आयोजना भद्रदल गण भकुण्देबेशी र इलाका प्रहरी कार्यालय मंगलटारको समन्वय तथा नमोबुद्ध नगरपालिका र तेमाल गाउँपालिकाको सहकार्यमा तालिम आयोजना भएएका हो ।
गत सोमबार रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाको सभापतित्व तथा नमोबुद्ध नगरपालिकाका मेयर कुन्साङ लामाको प्रमुख आतिथ्यतामा तालिम कार्यक्रमको शुभारम्भ भएको थियो ।
तालिम शुभारम्भ गर्दै नमोबुद्ध नगरपालिकाका मेयर लामाले विपद न्युनिकरणका लागि सबै मिलेर अगाडि बढ्नु पर्ने बताएका थिए । ‘विपद कहिँ पनि कसैलाई पनि नपरोस्, यदि परिहाल्यो भने पनि हामी सबै मिलेर सामना र प्रतिकार्य गर्न लाग्नु पर्छ ।’ बमोबुद्ध नगरपालिकाका मेयर लामाको भनाई थियो । ‘स्थानीय तह एकातिर, प्रहरी एकातिर, नेपाली सेना एकातिर भयो भने प्रभावकारी हुदैन, त्यसो भएर हामी सबै एक्जुट भएर अगाडि बढ्नुपर्छ ।’ विपद प्रतिकार्यका लागि जुनसुकै सहयोग गर्न तयार रहेको उनको भनाइ थियो ।
रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले विपदमा फ्रन्टलाइमा उभिनुपर्ने व्यक्तिहरु एक भएर लागौं भन्ने सन्देश दिनको लागि तालिमको आयोजना गरेको बताए । विपद सम्बन्धी प्रतिकार्य गर्न समुदाय स्तरमै जनचेतना फैलाउनका लागि तालिमको आयोजना गरेको उनको भनाइ थियो ।
भकुण्देबेशीमा अवस्थित २६ नम्बर बाहिनीपति अशोक गुरुङको नेपाली सेनाले स्थानीय तहहरुसँग समन्वय गरेर विभिन्न कार्य गर्दै आएको र विपदमा प्रभावकारी भएकोे भनाइ थियो ।
२०७२ सालको भूकम्पपछि काभ्रे जिल्ला पहिरोको जोखिममा रहेको बाहिनीपति गुरुङको भनाई थियो । त्यसल गर्दा पनि सतर्क रहन उनले सबैलाइ अनुरोध गरे ।
प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेडाइले विपदमा सामुहिक रुपमा प्रतिकार्यका लागि लाग्नुपर्नेमा जोड दिएका थिए । जिल्लाका सुरक्षा निकाय र स्थानीय तहहरु एक भएर प्रतिकार्यमा लाग्नुपर्ने उनको भनाइ थियो ।
नेपाली सेना भद्रदल गणका क्याप्टेन समीर अधिकारी तालिमको बारेमा प्रस्तुतीकरण गरेका थिए । उनले तालिममा सैधान्तिक तथा व्यवहारिक ज्ञान आदनप्रदान हुने बताए । प्रतिकार्यमा प्रयोग हुने सामग्रीहरुको बारेमा पनि अधिकले जानकारी दिएका थिए ।
तालिममा ८० जना भन्दा बढी सहभागी रहेको रोशी गाउँपालिका विपद व्यबस्थापन समितिका सदस्य सचिव तथा इन्जिनियर भुपेन्द्र अधिकारीले जानकारी दिए । तालिममा रोशी गाउँपालिकाको हरेक वडाबाट र रेडक्रबाट सहभागी रहेका थिए ।
भकुण्डेबेशी स्थित भद्रदल गणका क्याप्टेन समिर अधिकारी, इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरिक्षक कृष्ण गिरी लगायत सुरक्षाकर्मीहरुले प्रशिक्षण दिएका थिए ।