बनेपा
काभ्रेको बनेपा नगरपालिका वडा नं. ६ बुडोलमा यातायात व्यवस्था कार्यालय संचालनमा आएको छ । शनिवार बागमती प्रदेश श्रम रोजगार तथा यातयात मन्त्री लक्ष्मण लम्सालले कार्यालयको औपचारिक समुदघाटन गरे ।
उदघाटन कार्यक्रमलाई संवोधन गर्दै लम्सालले संघियता कार्यान्वयनसँगै सेवाप्रदायक कार्यालय तल्लो तह सम्म पग्नुुपर्नेमा उल्टै कार्यालय घटाउने अभ्यास हुँदा केन्द्रीकृत बनेका र अब ती कार्यालयहरुलाई जिल्ला तथा सम्भव हुँदा पालिका स्तर सम्म स्थापना गरिने बताए । कार्यालयहरुको विकेन्द्रिकरणको उद्देश्य अनुरुप नै बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना भएको उनको भनाई थियो । ‘बनेपामा कार्यालय अत्यावश्यक थियो स्थापना भयो यसले यातायात व्यवसायी मात्र नभएर सबैलाई फाइदा पुग्छ । प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगारी बृद्धि हुन्छ ।’ लम्सालले बताए ।
आवश्यक व्यवस्थापन मिलाउने कार्य भइरहेकोले कार्यालयबाट प्रदान गरिने सबै सेवा प्राप्त गर्न भने केही समय कुर्नु पर्ने बताए । यातायात सम्बन्धि सबै सेवा बनेपाबाट नै पाइने उनको भनाई थियो । प्रदेशले सवारी साधनका तथ्यांकलाई प्रविधिमा आधारित बनाउँदै गरेको र आगामी वर्षबाट फाइल ढड्डा खोजेर हिड्नुपर्ने समस्या अन्त्य हुने जसले बिचौलियाको समस्या हट्ने उनको दावी थियो ।
राजश्व संकलनका हिसाबमा महत्वपूर्ण क्षेत्र यातायात भएको उल्लेख गर्दै यातायात व्यवस्था कार्यालयबाट मुस्कान सहितको सेवा प्रदान गर्न कर्मचारीलाई उनको निर्देशन थियो । प्रदेश मन्त्रालयले उत्कृष्ट चालक तथा सहचालक सम्मान कार्यक्रम ल्याएको बताउँदै १० वर्ष देखि सावारी साधनका कर नतिरेका सवारी धनीका लागि करकाे जरिवानामा ५० प्रतिशत छुटको व्यवस्था गरेको बताए । प्रदेश सरकारले यातायात व्यवस्थापमा सुधारका कार्य गरेको उनको भनाई थियो ।
प्रदेश सांसद कञ्चनचन्द्र वादेले चीन र भारत जोडिने दुई राजमार्ग सहितको राजधानीको पुर्वी ढोका बनेपामा यातायात कार्यालय अत्यावश्यक रहेको भन्दै यसले राजधानी पूर्वका सेवाग्राहीलाई सहजता हुने बताए ।
प्रदेश सांसाद रत्न ढकालले जिल्लाबाट प्रतिनिधित्व गर्ने सबै सांसादहरुको प्रयासबाट नै कार्यालय स्थापना गर्न सफल भएको बताए ।
प्रदेश सांसद रुकमणी चौलागाईले साझा प्रयासबाट बनेपामा कार्यालय स्थापना भएको र जिल्लाका लागि यो ठूलो उपलब्धि रहेको बताइन् ।
कार्यक्रममा बोल्दै व्यवसायी सुरकृष्ण वैधले कार्यालय स्थापनाले सहजता थपेको भन्दै बिमा लगायातको व्यवस्थामा सुधार आवश्यक रहेको बताए । बनेपा नगरप्रमुख शान्ति रत्न शाक्यले यातायात कार्यालयका लागि नगरले निःशुल्क भवन उपलब्ध गराएको प्रसंग उल्लेख गर्दै कार्यालय आसपास लगायतका क्षेत्रको पुर्वाधार विकासमा मन्त्रालयले सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख दिपक गौतम, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाई, विभिन्न पालिकाका प्रमुख, उपप्रमुख, तथा यातायात व्यवसायी, उद्योगीहरु लगायतको उपस्थिति रहेको थियो । यातायात कार्यालय स्थापना गर्नको लागि बनेपा नगरपालिका र श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशबीच सम्झौता भइ नगरपालिकाको भवनमा स्थापना भएको हो ।कार्यालय स्थापना पछि छिमेकी जिल्ला रामेछाप, दोलखा, सिन्धुपाल्चोकलाई सहज हुने अपेक्षा गरिएको छ ।