काभ्रे
यस अघि दुई विषयमा एनजी आएकाले मात्र ग्रेड बृद्धि परीक्षामा सहभागी हुन पाउने भनिए पनि २०८० सालको एसईई परीक्षामा जतिसुकै विषयमा एनजी आएकाले पनि ग्रेडबृद्धि परीक्षामा भाग लिन पाउने भएका छन् ।
एक पटकका लागि मौका परीक्षामा सबै विद्यार्थीलाई सम्मिलित हुन दिने शिक्षामन्त्रीस्तरीय निर्णय भएको छ । त्यसका लागि लेटर ग्रेडिङ निर्देशिका संशोधन गर्न पाठ्यक्रम विकास केन्द्रलाई परिपत्र पनि भइसकेको जनाइएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता केशव दाहालले एक पटकका लागि मात्र जतिसुकै विषयमा एनजी आए पनि मौका परीक्षामा सम्मिलित हुन दिने व्यवस्था गर्न लागिएको जानकारी दिए । बढीमा दुई विषयसम्म एनजी भएकाले मौका परीक्षामा सम्मिलित हुन पाइने भनी आगामी साउन १८ र १९ गते मौका परीक्षा तोकिएको थियो ।
बिहीबार सार्वजनिक भएको २०८० सालको एसइईको नतिजाअनुसार १ लाख १५ हजार ८ सय ३४ परीक्षार्थीले मौका परीक्षामा सम्मिलित हुन पाउने थिए ।