काभ्रे
नेपाल प्रेस युनियन केन्द्रीय समितिले नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको ध्यानाकर्षण गराएको छ ।
शनिबार पत्रमार्फत युनियनले महासंघको सदस्यतामा देखिएको विवादलाई विधानअनुसार टुंगोमा नपुर्याई निर्वाचन कार्यतालिका र मतदाता नामावली सार्वजानिक गरेको भन्दै पत्र मार्फत गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पत्रकार महासंघका शाखा प्रदेशले सिफारिस गरेका सदस्यलाई हटाएर महासंघको केन्द्रीय समितिले कुनै संरचनाले सिफारिस नगरेका गैर पत्रकारलाई समावेश गरेर मतदाता नामावली प्रकाशित गराएको आरोप सहित असहमति जनाएको हो ।
युनियनले ५ बुँदै माग राखेको छ । उक्त मागहरु २४ घण्टाभित्र संवोधन नगरी जवरजस्ती ढंगले एक पक्षीय रुपमा निर्वाचन प्रकृया अघि बढाएमा युनियनले देशभर प्रतिवाद गर्न बाध्य हुने भन्दै त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवारी स्वयम् पत्रकार महासंघले लिनुपर्ने चेतावनी समेत दिएको छ ।
युनियनले राखेका मागहरुमा पत्रकारकार महासंघका शाखा र प्रदेश समितिले विधान बमोजिम सिफारिस गरेका सदस्य कायम गरी मतदाता नामावली संकलन गर्नुपर्ने, सिफारिसमा छुटेका सक्रिय पत्रकारलाई उजुरी प्रमाणका आधारमा महासंघको विधान अनुरुप सदस्यता नविकरण तथा नयाँ सदस्यता दिनुपर्ने रहेको छ ।
त्यसैगरी महासंघको विधान, प्रक्रिया र मापदण्ड विपरित सार्वाजानिक गरिएका सदस्यहको नाम मतदाता नामावलीबाट हटाइनुपर्ने, विधि प्रक्रिया नपुर्याई महासंघका सम्बन्धित शाखाको स्वीकृति बिना काठमाडौं, भक्तपुर, ललितपुर लगायत देशभर स्थानान्तरण गरिएका सदस्यता खारेज गर्नुपर्ने, मतदाता नामावलीको विवाद टुुङ्ग्याएर मात्र निर्वाचन कार्यतालिका अघि बढाउनुपर्ने कार्यबाहक अध्यक्ष प्रेम के.सीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।
यता प्रेस युनियन काभ्रे शाखाले भने शनिवार नै पत्रकार महासंघ काभ्रे शाखामा मतदाता नामावली प्रति असहमति जनाउँदै तालाबन्द गरेको छ ।