काभ्रे
रक्तदाता दिवस जुन १४ को अवसर पारेर जिल्लामा विभिन्न कार्यक्रमहरु आयोजना भएका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेको अयोजना,नेपाल रेडक्रस सोसाइटी काभ्रे जिल्ला शाखाको समन्वय तथा काभ्रेउपशाखाको आतिथ्यतामा नेपाल रेडक्रस सोसाइटी तालिम केन्द्र काभ्रे बुडोलमा सम्मान पुरस्कार तथा धन्यवाद कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम जनस्वास्थ्य प्रमुख रागी श्री कक्षपतिको सभापतित्वमा भएको थियो ।
बनेपा नगरप्रमुख शान्तीरत्न शाक्य प्रमुख अतिथि तथा विशिष्ट अतिथिका रुपमा नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखा सभापति रघुनाथ हुमागाई रहेका थिए ।
कार्यक्रमका वक्ताहरुले रक्तदान जस्तो महत्वपूर्णकार्यमा सहभागी सबैलाई धन्यवाद दिँदै रक्तदान कार्यक्रम संचालनका लागि प्रोत्साहनका कार्यक्रम संचालन गर्नुुपर्ने बताए । कार्यक्रममा १०० भन्दा धेरै रक्तदान गराउने संस्था,धेरै रक्तदाताबाट रक्तदान गराउने उपशाखालाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुने उपशाखाहरुमा पनौती, कुशादेवी, सुब्बागाउँ रहेका छन् । त्यसैगरी सामुदायिक बचत तथा ऋण सहकारी संस्था पनौती पनि सम्मानित भएको छ ।
सबैभन्दा धेरै महिला रक्तदाताबाट रक्तदान गराउने संस्थाहरुमा क्रिष्चियन समाज बनेपा ,क्रिष्चियन समाज पनौती, उग्रचण्डी बचत तथा ऋण सहकारी संस्था नाला, कृष्ण प्रणामी सेवा समिति बनेपा सम्मानित भए । त्यसैगरी धुलिखेल अस्पतालका तर्फबाट राम योगल, दयालक्ष्मी श्रेष्ठ, सुरेन्द्र ताम्राकार तथा पनौतीकी जिना श्रेष्ठ उत्कृष्ठ रक्तदाताको रुपमा सम्मानित भए ।
जिल्लका ३० ओटै उपशाखाहरुले रक्तदाता दिवस मनाएका जिल्ला सभापति हुमागाईले जानकारी दिए । यसैक्रममा उपशाखाले रक्तदाता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस जिल्ला शाखा सभापति रघुनाथ हुमागाई कार्यक्रमका प्रमुख अतिथिका रुपमा रहेका थिए । कार्यक्रममा बोल्दै हुमागाईले एक घर एक रक्तदाता निर्माणका लागि प्रोत्साहनमुलक कार्यक्रम संचालन गर्नुपर्ने बताए ।
अतिथिका रुपमा रहेका रेडक्रसकर्मी तथा पत्रकार महासंघ पूर्व सभापति नारायण प्रसाद सापकोटाले रक्तदान कार्यक्रमको महत्व र फाइदा बुझाएर नयाँ पुस्तालाई आकर्षित गर्नुपर्ने बताए । रेडक्रस जिल्ला सदस्य गीता तिमल्सिनाले रक्तदान कार्यमा संलग्न सबैलाई धन्यवाद दिँदै यस प्रकारका कार्यले निरन्तरता पाउनुपर्ने बताइन् । अर्का अतिथि रेडक्रसकर्मी गोर्वद्धन कर्मचार्यले पनौती उपशाखा आफूसक्षम बनि सामाजिक कार्यमा निरन्तर लागेको भन्दै प्रशंसा गरे । साथै उनले पनौती उपशाखालाई स्वात्तबनाउनका लागि हालका जिल्ला सभापतिको भूमिका महत्वपूर्ण रहेको बताए ।
उपशाखाले आयोजना गरेको कार्यक्रममा रक्तदान गर्ने ४८ जना रक्तदाताहरुलाई सम्मान गरिएको थियो । कविता थापा श्रेष्ठले स्वागत मन्तव्य राखेको कार्यक्रममा उपशाखा अध्यक्ष राजु ताम्राकारको सभापतित्वमा भएको थियो भने कार्यक्रमको संचालन उपशाखा सचिवमनोज श्रेष्ठले गरेका थिए ।