आज फेरि उही बाटो ,उही गन्तव्य
त्यसैगरी लहरे उभिरहेका हुने्छन्,
मसलाका रुखहरू
जसरी प्रार्थना सभामा
राष्ट्रिय गान गाउन उभिन्छन्
विद्यार्थीका लहर
ती रुखहरुले त्यही सुगन्ध छरेर
आज पनि “एकछिन त बस्नु “भन्नेछन् ।
जङ्गलको सुरुवातको गुलमोहर
लाली रङ्ग छरेर उभिरहेको हुनेछ।
हावाले नचाएका हाँगा हाँगाहरूमा
फक्रिएको सुन्दरता सँगेटेर
बस्दो हो पर्खिएर
कोही कविले देख्नेछ र लेख्ने छ,
रुखहरूको बीचमा उभिएको
एक्लो जीवनको सुन्दरता
यो चर्को घाममा
पिच बाटोको रापले सेकिएर
दुई प्रेमिल बटुवा
झर्नेछन् खुत्रुक्क बाइकबाट
समेटेर प्रेमिकाको छरिएको कपाल
जब प्रेमीले सजाइदिनेछ स्नेहले
ढक्कमक्क फक्रिएको लालुपाते गुलमोहर
झन् गाढा रातो हुँदो हो
सक्थ्यो भने छायाँ पनि गुलाबी पारिदिन्थ्यो,
पर्खिरहेको हुँदो हो
बरु एउटा गोठालो आओस
एक हुल फुत्रुक्क फुत्रुक्क उफ्रने पाठाहरु लिएर
चप्पल ओच्छ्याएर बसोस आडैमा
उ हम्किदिनेछ , शीतल हावा
मलाइ पनि देख्दो हो, सधैं हतारिएको
मनमनै बोलाउदो हो, “आउन एउटा कथाको किताब लिएर।
म हल्ला गर्ने छैन , कसैलाई भन्ने छैन ,
तिमी पढेर रोयौ भनेर।”
तर म आउँदिन
भ्याउँदिन
म त मात्र कामना गर्न सक्छु , गुलमोहर
त्यो पनि तिमिले नसुन्ने गरि
बस ! भरे राती सुस्तरी झरी परोस।
बिहान यहि बाटो आउँदा
टाढै बाट भएनि तिमी गाढा भएको देख्न पाउँ !