काभ्रे । आइतबार जिल्ला प्रहरी कार्यालय काभ्रेमा आयोजित परिचयात्मक कार्यक्रममा बोल्दै नवनियुक्त प्रहरी प्रमुख एसपी बशुन्धरा खड्काले तस्करी, गुडागर्दी र आर्थिक लेनदिनमा कुनै पनि सझौता नहुने बताएकी छिन् ।
जिल्लामा शान्ति सुरक्षा र अमनचयन कायम गर्ने आर्थिक, सामाजिक र साइबर अपराध नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्ने उनको वचन बद्धता छ ।
जिल्लामा रहेका तस्करी र गुडागर्दी एवंम् अपराधिक गतिविधिमा संलग्न व्यक्ति र फरार अभियुक्तलाई पक्राउ गर्नुका साथैे चोरी तस्करी, लगायतका अपराधिक गतिविधि नियन्त्रण गर्न शून्य सहनशिलताको नीति लिन प्रतिबद्ध रहेको उनका भनाई छ ।
प्रहरी महानिरिक्षक देखि नै अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न कुनै कसुर बाँकी नराख्न निर्देशन रहेको भन्दै उनले आफू मातहातका कर्मचारीबाट पनि छवि बिगार्ने काम भए तत्काल कारबाहीको प्रकृयामा अगाडि बढाउने बताइन् ।
अपराधमुक्त तथा भयमुक्त वातावरण बनाउनमा समाजका सबै पक्षहरुको साथ जरुरी रहेका भन्दै खड्काले पत्रकार, नागरिक समाज र सर्वसाधारण नागरिकलाई सहयोगका लागि अपिल गरिन् ।
कार्यक्रममा उपस्थित पत्रकारहरुले प्रहरीको तर्फबाट प्रदान गरिने सूचना समयमै उपलब्ध गराउन भनेका थिए । भेटघाट कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेका सुचना अधिकृत राजकुमार श्रेष्ठ, इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख लालध्वज सुवेदी, जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रे प्रमुख जनार्दन घिमिरे लगायत पत्रकार एवं सुरक्षकर्मीहरुको उपस्थिती रहेको थियो ।