काभ्रे
सूर्यको उपासना गरी चार दिन सम्म मनाइने छठपर्वको आज दोस्रो दिन धुमधामका साथ मनाइँदै छ ।
चार दिनसम्म नियम र निष्ठापूर्वक मनाइने छठको पहिलो दिन नहाय खाएर शुरु हुने गर्छ हो । पारिवार एवम् सन्तानको सुख समृद्धिको कामना गर्दै श्रद्धापूर्वक मनाइने छठपर्वको दोस्रो दिन ब्रतालुले प्रसादको रुपमा चामल, सक्खर र दूध मिसाएर बनाएको खीर खाने चलन छ । यसरी बनाइएको खिरलाई खराना भनिन्छ ।
तेस्रो दिन छठ पर्वको मुख्य दिनको रुपमा चिनिन्छ । जुन दिन देशभर सार्वजानिक विदा दिने चलन रहेको छ । सो दिन अस्ताउँदो सूर्यलाई अर्घदिई पूजा गरिन्छ । चौथो तथा अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठपर्व विधिवत समापन गर्ने गरिन्छ ।
तराई क्षेत्रको मुख्य चाडको रुपमा चिनिने छठ पर्वमा बाँसको ढकी, डग्री, माटोको कोसिया कुरबार, हाती लगायतको सामग्रीहरु चढाइन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, बेसार, अदुवा एवं विविध प्रकारका मिठाई तथा फलफूल आदि सूर्यलाई अर्घको रुपमा चढाउने चलन छ ।
अर्घ दिन ब्रतालु ४८ घन्टासम्म उपबास बस्ने गर्दछन् । छठ पर्वका लागि तलाउ, पोखरी, नदी र खोला किनारहरु सफा गरेर झकिझकाऊ पारिएको हुन्छ ।
छटपर्वमा तराई क्षेत्रका गंगासागर, धनुसागर, अंगराजसर, दशरथ तलाउ लगायतको पोखरीहरुमा छठ मनाउनेहरुको भिड हुने गर्छ भने पछिल्लो समय काठमाडौंको रानीपोखरी लगयातका अन्य जिल्लाका नदी पोखरी खोलामा छठमनाउनेहरुको भिड हुने गरेको छ ।
पहिले तराईका बासिन्दाले मात्र मनाउने छठ पर्व हिजोआज पहाडका बासिन्दाले समेत मनाउन थालेका छन् ।