पनौती । हरेक वर्ष जस्तै यस वर्ष पनि पनौती नेपाल तथा पनौती नेपाल महिला समूहले नेपाल संवत्को अवसरमा भिन्तुना र्याली आयोजना गर्ने भएको छ । र्याली कार्तिक २८ गते संचालन हुने छ ।
शुभदिपावलीको चौथो दिन गोवर्धन पुजा (म्ह पूजा)को दिनमा आयोजना गर्ने र्याली कायक्रममा बालबालिका युवा तथा महिला, जेष्ठ नागरिक,समाजसेवीहरु लगायतका प्रबुद्ध व्यक्तिहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।
कार्यक्रमको बारेमा जानकारी गराउन सोमबार पनौतीमा आयोजना गरिएको पत्रकार भटघाट कार्यक्रमा बोल्दै पनौती नेपालका अध्यक्ष निवास श्रेष्ठले यस अघि आयोजना गरिएका कार्यक्रमहरुको उपयोगिताका बारेमा प्रष्ट्याउँदै पनौतीका बारेमा जानकारी गराउने सबैभन्दा उत्तम विकल्प भिन्तु्ना र्याली नै भएको बताए । बर्तमानमा कायम रहेका मौलिक संस्कृतिको प्रतिनिधित्व र्यालीमा हुने उनको भनाई छ ।
कार्यक्रममा पत्रकारहरु नारायण सापकोटा, मोतिराम तिमल्सिना तथा मधुसुधन गुरागाईले भिन्तुना र्यालीका विषयमा प्रकाश पारेका थिए । पनौतीमा हुने यो र्याली १२ औं संस्करण हो । १३ वठा झाँकी समावेश हुने र्याली सदाझै पनौती बसपार्क क्षेत्र बजार क्षेत्र हुँदै इन्द्रेश्वर मन्दिरमा गएर समापन हुने छ । समापन सँगै नेवारी भोजको आयोजना गरिएको छ ।