आश्विन शुक्ल (कोजाग्रत) पूर्णिमामाका दिन कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
ग्रहण राति १ बजेर १९ मिनेटमा शुरु हुनेछ । २ बजेर ३८ मिनेटमा अन्त्य हुने ग्रहणको अवधि १ घण्टा १९ मिनेट रहने छ । ग्रहणको उन्मीलनकाल वा मध्यावधि रातीको १ बजेर ५९ मिनेट उल्लेख छ ।
ग्रहण लाग्नुको ९ घण्टा अगाडिबाट नै सुतक काल शुरु हुने र उक्त अवधिमा कुनै पनि शुभकार्य गर्नु नहुने मान्यता रहेको छ । चन्द्रग्रहणको सुतक दिउँसो ४ बजेर १९ मिनेटबाट सुरु हुने छ ।
ग्रहणको आंशिक छायाँ परेमा खण्डग्रास तथा पूर्ण छायाँ पर्दा खग्रास ग्रहण लागेको मानिन्छ । ग्रहणकालमा भजन किर्तन गर्ने, मन्त्र वाचन गर्ने तथा ग्रहण समाप्ति पछि दानपुण्य, गर्ने तथा नदी तलाउमा गएर स्नान गर्नुपर्ने मान्यता रहेको छ ।
त्यसैगरी ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लेखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।