बेथानचोक
तिप्चोक खेलमैदानमा अध्यक्ष कप वडास्तरीय फुटबल प्रतियोगिता २०८० संचालन भइरहेको छ ।
बेथानचोक गाउँपालिका र भूमिमाता युवा क्लबको संयुकत आयोजनामा सेभेन ए साइड पाँचौ बेथानचोक फुटबल प्रतियोगिताको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले उद्घाटन गरेका थिए ।
प्रतियोगिताको उद्घाटन गर्दै अधिकारीले गाउँपालिका भित्रका खेलाडीहरुबीच प्रतिस्पर्धा गराउँदै उत्कृष्ठ खेलाडी उत्पादनमा प्रतियोगिता उपयोगी हुने भनाई राखे ।
खेलकुदको विकास र वडा स्तरबाटै खेलप्रतिको रूचि बढाउन गाउँपालिकाले खेलकुदमा लगानी गरेको बताउँदै विभिन्न प्रतियोगिताहरू सञ्चालन गर्दै आइएको उनले बताए । राष्ट्रको गौरव, सान, मान, पहिचान स्थापित गर्न खेलकुदले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकोले गाउँपालिकाले यस प्रकारका प्रतियोगिता आयोजना गरिरहने जानकारी दिए ।
गाउँपालिका खेलकुद शाखा प्रमुख सिताराम तिमल्सिनाले कुशल अनुशासित स्वास्थ्य शरीर, स्वास्थ्य मस्तिष्क भएको नागरिक उत्पादन गराउन खेलकुदको महत्वपूर्ण भूमिका रहने बताए । उनले भने, “खेलाडी देशको राष्ट्रिय सम्पत्ति हो । खेलकुदको विकास र खेलको वातावरणका लागि खेल पूर्वाधार महत्वपूर्ण हुन्छ । गाउँपालिकाले खेलको प्रवद्र्धनका लागि, खेलकुद पूर्वाधारको विकासका लागि विभिन्न गतिविधि गर्दै आइरहेको छ ।”
प्रतियोगितामा १६ ओटा टिम सहभागी छन् । प्रतियोगिता कार्तिक ३ गते सम्म संचालन हुने छ । बिजेता टिमले ६० हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र पाउने छ । यस्तै उपबिजेता टिमले ३० हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र पाउने भूमिमाता युवा क्लबका अध्यक्ष माइते तामाङले जानकारी दिए । यस्तै बेष्ट प्लेयर, हाइ स्कोरर, बेष्ट डिफेण्डर तथा म्यान अफ दि सिरिजलाई पनि नगदद्वारा पुरस्कृत गरिने उनले जानकारी दिएका छन् ।