बेथानचोक
निर्वाचित भएपछि कार्यभार सम्हाल्दै पालिका अध्यक्ष भगवान अधिकारीले पालिका भित्र देखिएका मुख्य समस्या सम्वोधन हुने गरी केही बुँदामा प्रतिबद्धता व्यक्त गरका थिए । उनले कार्यभार सम्हालेको पहिलो वर्षमै ती बुँदाहरु मध्यको एक बुँदा पक्की सडक निर्माण कार्यको पहिलो चरण सम्पन्न गरेका छन् ।
हरेक वर्ष ५ किलोमिटर सडक कालोपत्रे सहित पक्की गर्ने प्रतिबद्धता अनुरुप पालिकाले चलाल क्लबघर देखि बेथानचोक गेल्दुङबजार सम्म सडक कालोपत्रे गरेको हो । पहिलो ५ वर्षमा उक्त खण्डको ७ किलोमिटर सडक कालोपत्रे भएको र प्रतिबद्धता अनुरुप पालिका भित्रका मूख्य सडकहरु क्रमबद्ध रुपमा सडक पक्की तथा कालोपत्रे गरिने पालिका अध्यक्ष अधिकारीले बताए ।
बेथानचोक गाउँपालिका पूर्वाधार विकास शाखा प्रमुख तथा इन्जिनियर ज्ञानप्रसाद तिमल्सिनाका अनुसार आर्थिक वर्ष ०७९/८० मा साढे दुई किलोमिटर सडक कालोपत्रे र साढे चार किलोमिटर सडक ढलान गरेको छ । पाटीखर्क–चलालगणेस्थान–आलुबारीपाटी–मुसी खोल्सा शीर्षकमा सडक स्तरोन्नतिका लागि नौ करोड अनुमान गरेकोमा साढे पाँच करोडमा सम्झौता भएको थियो । घिसिङ र जोशी जी जेभी निर्माण कम्पनीले ठेक्का पाएको थियो ।
पालिकाले उक्त कार्यलाई निरन्तरता दिनका लागि यस आर्थिक वर्ष ०८०/ ८१ का लागि पनि ६ करोड रकम विनियोजन गरेको अधिकारीले बताए । यस वर्ष भने प्रत्येक वडाको स्थानीय बजारमा पक्की सडक निर्माण गर्ने लक्ष्य रहेको बताइएको छ ।
बेथानचोक गाउँपालिका भित्रको प्रमुख सडकका रुपमा खोपासी–ढुर्खक–च्याम्राङ्बेसी–झिङ्गे –मिल्चे सडक त्यसैगरी खोपासी–च्याल्टी–भञ्ज्याङ हुँदै खानीखोला तथा उक्त खण्डको भञ्ज्याङ देखि भुग्देउ–मेदाम्सु सडक रहेका छन् ।
त्यस मध्ये खोपासी खानीखोला सडकलाई यस अघि नै प्रदेश सडकको रुपमा स्तरोन्नतीको कार्य भएको छ भने खोपासी च्याम्राङबेसी सडकलाई जिल्लाबाट सबै भन्दा छोटो दुरीमा प्रदेश राजधानी हेटौंडा पुग्ने सडकको रुपमा प्रस्तावित सडक हो । यो वर्ष पालिकाले निर्माण गरेको सडक यहीँ सडक खण्ड अन्तर्गत पर्छ । उक्त सडकखण्डले पूर्णता पाएको खण्डमा पालिकाबाट केही घण्टामै प्रदेश राजधानीसम्म पुग्न सकिन्छ ।